१४ बैशाख २०८१, शुक्रबार

थापाको लिङ्देनलाई चेतावनी : मेरा माग पूरा नभए नयाँ पार्टी खोल्छु


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पूर्वअध्यक्ष कमल थापाले सरकारद्वारा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका माग अध्यक्ष राजेन्द्र लिङ्देनले पूरा नभए नयाँ पार्टी दर्ता गर्ने चेतावनी दिएका छन् ।

नयाँ पार्टी खोल्ने विषयमा छलफल गर्न काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आफू निकट नेताहरुको बोलाएको बैठकमा थापाले संकेत गर्दै माग पूरा गर्न अध्यक्ष लिङ्देनलाई अल्टिमेटम दिएका हुन् ।

थापाले नयाँ पार्टी खोल्ने तयारी स्वरूप केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग छलफल गरेका हुन् । उनले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै सोअघि नै समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।

राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले राजसंस्थाकाे आलोचना गर्दै आएका छन् ।विगतमा थापाले निर्मल निवासको ठाडो हस्तक्षेपवाट राप्रपा अध्यक्षमा आफू हारेको भनेर पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आरोप लगाउदै निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको टिप्पणी समेत गरेका थिए । उनले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन नसकिने पनि बताउदै आएका छन् ।

बैठकमा पटक-पटक आफूले लेखेको पत्र, पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी मनोनय लगायत विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । केही समय अगाडि भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा अध्यक्षका प्रत्यासी थापा पराजित भएका थिए ।

थापाले पार्टीमा सबैलाई समेट्न ध्यानाकर्षण पत्र लेख्दै आफूले गत २७ मंसीरमा पठाएको पत्रप्रति गम्भीर बन्न अध्यक्षलाई आग्रह गरेका थिए । आफ्नो पत्रलाई अध्यक्षले रद्दीको टोकरीमा मिल्कादिएको भन्दै उनले महाधिवेशनपछि आफूलाई पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराएकोप्रति गुनासो गरेका थिए ।

यता राप्रपाका अध्यक्ष लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !