१४ बैशाख २०८१, शुक्रबार

तीन जनाको नेपाली नागरिकता रद्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन नेपालीको सो निर्णय गरेको जानकारी दिए ।

त्यस्तैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको हो ।

नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणीमा विनोदकुमार भट्टराई र नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा रामप्यारी सुनुवारलाई नियुक्ती गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !