२५ बैशाख २०८१, मंगलबार

आफ्नै पक्षले भोट नदिएर दुई मतले घिमिरे हारेपछि शेखरले मागे माफी


काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापतिमा देउवा-सिटौला पक्षका उद्धव थापा विजयी भएका ​छन् । संस्थापनइतर कोइराला-पौडेल पक्षका गुरुराज घिमिरेलाई पराजित गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट उम्मेदवार बनेका थापा विजयी भएका हुन ।

उनले कोइराला-पौडेल समूहका घिमिरेलाई २ मतले पराजित गरेका हुन् । थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेका थिए । सभापतिसहित अधिकांश पदमा देउवा-सिटौला पक्षले जितेको छ ।

यसरी संस्थापनइतर कोइराला-पौडेल पक्षका घिमिरे आफ्नै समूहले भोट नदिएर पराजित भएपछि काँग्रेस नेता शेखर कोइरालाले माफी मागेका छन् । आफ्नै प्यानलका घिमिरे दुई मतले मात्रै पराजित भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै माफी मागेका हुन् ।

कोइरालाले सामाजिक संजाल ट्वीटरमा लेख्दै केन्द्रीय सदस्यहरुले प्रदेशको चुनावमा मतदान गर्न पाउने/नपाउने भन्नै अन्योलका कारण घिमिरेलाई मतदान गर्न नसकेको उल्लेख गरेका छन् । उनले यस विषयमा स्पष्ट नभई प्रदेश अधिवेशनमा मतदान प्रक्रियामा सहभागी हुँदा भविष्यमा जटिलता आउन सक्ने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘कांग्रेस १४ औँ महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । उनले ट्वीटरमा लेखेका छन् यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

थापा झापा जिल्लाका पूर्वसभापति हुन् भने घिमिरे केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन । यद्यपि घिमिरेले पुन: गणनाको माग गर्दै निर्वाचन समितिमा निवदेन दिएपछि समितिले मतपरिणाम औपचारिक रुपमा घोषणा गरेको छैन ।

यो पनि पढ्नुहोस्

काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !