१४ बैशाख २०८१, शुक्रबार

ओलीको ‘माछो माछो भ्यागुतो’ रणनीतिवाट शिकार नेम्वाङ


केपी शर्मा ओली र सुवास नेम्वाङ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘माछो माछो भ्यागुतो’ रणनीतिवाट एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङ शिकार भएको भनेर यतिखेर विश्लेषण हुन थालेको छ । नेम्वाङका लागि ओलीसँगको गठबन्धन ‘माछो माछो भ्यागुतो’ जस्तै मात्र भएको अव बुझ्न कठिन छैन ।

केही वर्षयता ओलीनिकट हुँदै आएका नेम्वाङ ओलीबाट नै पटक-पटक आजित हुँदै आएका थिए । संसद बिघटन नगर्नु भन्ने सल्लाह नमानेको र आफ्नो समेत छवि बिगारी दिएको अप्रत्यक्ष रुपमा गुनासो नेम्वाङले गर्ने गरेका थिए । ओलीको पार्टी र सत्ता चलाउने शैलीबाट आजित भएका नेम्वाङको मनलाई ओलीको व्यवहारले झन मर्माहत बनायो ।

यद्यपि नेकपा हुँदा प्रचण्डनिकट अग्नि सापकोटा भन्दा नेम्वाङलाई सभामुख बनाउन सहज भने ओलीले नदेखेका होइनन् । तर सापकोटालाई सभामुखमा नियुक्त गर्न पनि ओली बाध्य भएका थिए । वास्तवमा ओली नेम्वाङलाई पुनः सभामुखमा दोहोर्याउन चाहान्थे । तर त्यो समयमा माधव नेपाल–प्रचण्ड गठबन्धनले ओलीलाई झुकाएको थियो ।

ओलीले आफूलाई प्रधानमन्त्री बनाए एमालेको पार्टी एकता जोगाउन सकिने अबस्थामा ओलीले नजरअन्दाज गरेको समेत उनीनिकट नेताले बताउछन् । ओलीकै कारण एमाले विभाजन भएको र सत्तावाट समेत हट्नु परेको नेम्वाङको भित्री बुझाई रहेको छ । अहिले राष्ट्रपतिको ललिपप देखाएर ओलीले बामदेव गौतम जस्तो त गर्ने होइनन् भन्ने आशंका नेम्वाङमा उत्पन्न हुने पनि स्वाभाविक हो ।

शनिबार मात्र अध्यक्ष ओलीले आगामी आम निर्वाचनपछि उनलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेतापनि त्यसलाई नेम्वाङले अस्वीकार गरेपछि पनि उनलाई ओलीले उपाध्यक्षको अफर गरेका थिए । तर नेम्वाङले भने वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदमा नबस्ने जनाएका थिए ।

ओलीले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट अलग्याएर ईश्वर पोखरेलका लागि सहज बनाउन प्रतिस्पर्धामा नआउनका लागि नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएको नेम्वाङले बुझेका थिए । ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिएको बुझिएको छ ।

पोखरेल लगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दिएको छ । नेम्वाङलाई तपाईं राष्ट्रपति हुने मान्छे हो भन्दै राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा लड्नुहुन्न भन्दै पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्ने सुझाव समेत दिएको नेम्वाङनिकट स्रोतले बताएको छ ।

नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएका थिए । हिजो तपाईंका लागि पार्टीमा बसेर सहयोग गरी योगदान गरेकोले अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्ष ओलीलाई भेटेर भनेका पनि थिए ।

पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेतापनि ओलीले भने त्यसको कुनै प्रतिक्रिया दिएका थिएनन् । तर वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाउने सम्भावना रहेको थियो । तर नेम्वाङ लगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेको थियो ।

वरिष्ठ उपाध्यक्ष पदको दावी गर्दै आएका नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङ एकाएक पछि हटेका छन् । आखिर किन उनी पछि हटे ? भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ । वरिष्ठ उपाध्यक्षको बलियो दावी गरेका नेम्वाङ बाध्य भएर पछि हटे वा आफ्नो इच्छाले उक्त पदको दावी छोडे भन्ने जिज्ञाशा बढ्नु स्वाभाविक छ ।

वरिष्ठ उपाध्यक्ष घोषणा गरेका नेम्वाङ उपाध्यक्षमा किन खुम्चिए ? अध्यक्ष ओली र नेम्वाङवीचको सम्वन्धमा खटपट सिर्जना भएको हो त ? यस्ता यावत् चासो एमालेमा उत्पन्न भएको छ । यसअघि पछिल्लो समय ओलीवाट अपमानित हुँदै आएका ईश्वर पोखरेल नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा किन परे ?

दोस्रो पटक ओली प्रधानमन्त्री भएको समयमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहेका पोखरेलको कार्यशैलीले ओली धेरै नै आजित भएका थिए । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को संयोजक हुँदा समेत पोखरेलले कोरोना नियन्त्रणमा उल्लेखनीय ठोस काम गर्न नसकेकोले ओली पोखरेलप्रति रुष्ट भएका थिए ।

पछि पोखरेललाई सीसीएमसीको संयोजकवाट हटाएर ओली आफै अध्यक्ष बसेर पोखरेल त्यसको सदस्य मात्र राखेका थिए । त्यतिबेलाको ओली सरकारले पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीलाई खारेज गर्दै प्रधानमन्त्री ओलीकै नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको थियो ।

केही समयअघिसम्म मात्र ओली र पोखरेलको सम्वन्ध चिसिंदै गएको हो कि भनेर समेत विश्लेषण गरिएको थियो । एमालेको उद्घाटन समारोहमा पोखरेलको सट्टा प्रदिप ज्ञवालीलाई कार्यक्रम संचालनको जिम्मेवारी दिएका थिए ।

यसवाट धेरैले अनुमान गरेका थिए की अव ओलीले पोखरेललाई पुरै बेवास्ता गरे भन्ने बुझाई आम नागरिक र एमालेका नेता-कार्यकर्तासामू देखिएको थियो । अव ओलीले पोखरेललाई नभएर नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष अवश्य बनाउछन् ।

पोखरेलका दिन गए अव आए नेम्वाङका दिन भनेर समेत विश्लेषण हुन थालेको थियो तर यस्तो अपेक्षाको ठिक बिपरित ओलीले नेम्वाङलाई उपेक्षा गरेर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाए । यसरी पछिल्लो समय ओलीवाट अपमानित हुँदै आएका ईश्वर पोखरेल नै पार्टी अध्यक्ष ओलीको रोजाईमा परेर वरिष्ठ उपाध्यक्ष पद बाजी मार्न सफल भए । यता नेम्वाङ ‘माछो माछो भ्यागुतो’ भनेझैँ हेरेको हेर्यै भए ।

ओलीले भने नेम्वाङलाई आगामी निर्वाचनमा राष्ट्रपति बनाउने ‘अफर’ दिएका थिए । उनले आगामी चुनावपछि राष्ट्रपतिको उमेदवार बन्ने गरी वरिष्ठ उपाध्यक्ष छोडेको पनि टिप्पणी भएतापनि नेम्वाङले भने त्यसलाई अस्वीकार गरेका छन् । एमालेको नेतृत्व चयनमा सर्वसम्मत भएपनि वा चुनाव भएपनि आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुने जिकिर गरेका नेम्वाङ जितेमा मात्र उपाध्यक्ष पदमा खुम्चिन पुगेका छन् ।

नेम्वाङलाई हटाएर अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाएका ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुँदा नेम्वाङलाई भने उपाध्यक्ष पदका लागि पनि चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको छ । नेम्वाङलाई अहिले निर्वाचित भई हालेपनि एमालेमा उपाध्यक्ष पद ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भन्ने अवस्था सिर्जना हुन पुगेको छ ।

यो पनि पढ्नुहोस्

पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष, नेम्वाङ किन एकाएक पछि हटे ?

एमालेमा दुई भाई पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष र महासचिव पद

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

एमाले उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध निर्वाचित

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !