१४ बैशाख २०८१, शुक्रबार

पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष, नेम्वाङ किन एकाएक पछि हटे ?


सुवास नेम्वाङ र ईश्वर पोखरेल

सौराहा । वरिष्ठ उपाध्यक्ष पदको दावी गर्दै आएका नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङ एकाएक पछि हटेका छन् । आखिर किन उनी पछि हटे ? भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

वरिष्ठ उपाध्यक्षको बलियो दावी गरेका नेम्वाङ बाध्य भएर पछि हटे वा आफ्नो इच्छाले उक्त पदको दावी छोडे भन्ने जिज्ञाशा बढ्नु स्वाभाविक छ । वरिष्ठ उपाध्यक्ष घोषणा गरेका नेम्वाङ उपाध्यक्षमा किन खुम्चिए ?

अध्यक्ष ओली र नेम्वाङवीचको सम्वन्धमा खटपट सिर्जना भएको हो त ? यस्ता यावत् चासो एमालेमा उत्पन्न भएको छ । यसअघि पछिल्लो समय ओलीवाट अपमानित हुँदै आएका ईश्वर पोखरेल नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको रोजाईमा किन परे ? यसभित्र लुकेको राजनीतिक अर्थ छुट्टै हुनसक्छ ।

आउनुहोस् यसवारेमा गम्भीर विश्लेषण गरौ । पार्टी अध्यक्ष ओलीले पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउने मनसाय बुझेपछि नेम्वाङ सहमतिमा आएको भन्ने एमाले स्रोतले बतायो । सहमति बनेमा आफू बाधक नबन्ने नेम्वाङको यसअघिको अभिव्यक्तिले पनि उनी दाबीबाट पछि हटेको र पोखरेललाई बरिष्ठ उपाध्यक्ष छोडिदिएको भन्ने पनि मत रहेको छ ।

केही दिनअघि मात्र वरिष्ठ उपाध्यक्ष दाबेदार एमालेको नेता नेम्वाङलाई अर्का दाबेदार नेता पोखरेलले वकिलले पार्टी चलाउन सक्दैन भन्ने खालका आरोप लागेपछि नेम्वाङ पनि झोक्किएका थिए । उनले वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ भन्दै पोखरेललाई चुनौतीसमेत दिएका थिए ।

स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छ । महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भनेका छन्, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’

त्यस्तै नेम्वाङले अध्यक्ष ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका कारण सहमतिको तीन विकल्प अघि सारेका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी थियो । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए । नेम्वाङको तर्क थियो, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

धेरै पहिलादेखि नेम्वाङले पार्टी एकता कायम हुनुपर्छ भन्‍ने आफ्नो मान्यता रहेको बताउदै आएका थिए । उनले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताएका थिए । आइतबार बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा रहेका थिए । यसरी एमालेमा नेम्वाङ र पोखरेलवीच शीतयुद्ध नै उत्पन्न भएको थियो ।

उनले आइतबार बिहान आफूले अध्यक्ष ओलीबाहेक अरुलाई नेता मान्‍न नसकिने समेत बताएतापनि आइतबार बेलुका भने उनले पार्टी एकताका लागि आफू तयार रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षबाट पछि हट्‍ने संकेत गरेका थिए ।

ओलीले वरिष्ठ उपाध्यक्षमा पोखरेललाई ल्याउन चाहेका थिए । पोखरेल र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा अडान कायमै राखेपछि शनिबार कुनै सहमति हुन सकेको थिएन । बरिष्ठ उपाध्यक्षमाथि आफ्नै समूहका दुई नेताले दाबी गरेकोले अध्यक्ष ओलीलाई सकस पारेको थियो ।

एमालेको नेतृत्व चयनमा सर्वसम्मत भएपनि वा चुनाव भएपनि आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुने जिकिर गरेका नेम्वाङ जितेमा मात्र उपाध्यक्ष पदमा खुम्चिन पुगेका छन् । नेम्वाङलाई हटाएर अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाएका ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुँदा नेम्वाङलाई भने उपाध्यक्ष पदका लागि पनि चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

ओलीले भने नेम्वाङलाई आगामी निर्वाचनमा राष्ट्रपति बनाउने ‘अफर’ दिएका थिए । उनले आगामी चुनावपछि राष्ट्रपतिको उमेदवार बन्ने गरी वरिष्ठ उपाध्यक्ष छोडेको पनि टिप्पणी भएतापनि नेम्वाङले भने त्यसलाई अस्वीकार गरेका छन् ।

उनले नेता कार्यकर्ताको सुझावभन्दा पार्टीको आदेश महत्त्वपूर्ण भएको र आफू पदको लागि बार्गेनिङ नगर्ने मान्छे भएकोले वरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गरेर उपाध्यक्षमा नै चित्त बुझाएको बताएका छन् । उनले पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्ष ओली समूहभित्रै ओलीपछिको नेतृत्वमा ध्रुवीकरण हुँदा महासचिव पोखरेल घेराबन्दीमा परेका थिए । संसदीय दलका नेता सुवास नेम्वाङ, उपमहासचिव घनश्याम भुसालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि पोखरेल घेराबन्दीमा परेका थिए ।

विधान महाधिवेशनबाट सुरक्षित तबरले पार्टीभित्र वरिष्ठ तहमा रहने उपाएको खोजीमा रहेका पोखरेल वरिष्ठ उपाध्यक्ष पद तय गराउन सफल भएपनि अहिले सो पदमा नेम्वाङले दाबी गरेपछि पोखरेललाई संकट उत्पन्न भएको थियो । तीन दिन यता उनले आफू निकट रहेका नेताहरुलाई नेम्वाङ फकाउन लगाएपनि नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने बरु चुनाव लड्ने जनाएकोमा पोखरेल उक्त रणनीतिमा सफल भए ।

यो पनि पढ्नुहोस्

एमालेमा दुई भाई पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष र महासचिव पद

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

एमाले उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध निर्वाचित

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !