१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


सर्वोच्च परिसर तनावग्रस्त

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनका क्रममा कानुन व्यवसायीहरू र प्रहरीबीच धकेलाधकेल समेत भएपछि सोही क्रममा प्रहरीले लाठी प्रहार गरेको हो ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन लगायत घाइते भएका छन् । लाठी प्रहारपछि महर्जन बेहोस भएका थिए । उनलाई पानी छम्केर बिउँझाइएको थियो ।

यस्तै प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको छ । आज बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो ।

बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो । सर्वोच्च परिसरमा बिहीबार यसअघि तुलनामा थप प्रहरी परिचालन गरिएको छ । सर्वोच्च परिसरमा अहिले कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेकोले उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !