लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा चोलेन्द्र Nepalpatra लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा चोलेन्द्र
११ मंसिर २०७८, शनिबार

लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा चोलेन्द्र


चोलेन्द्र शमशेर जबरा र लोकमानसिंह कार्की

काठमाडौँ । ‘ओरालो लागेको मृगलाई बाछाले पनि खेल्दछ’ भनेझैँ हिजो केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई हटाएर शेरबहादुर देउवालाई सत्ताको बागडोरको परमादेश जारी गरेका शक्तिशाली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कुरा सर्वोच्च अदालतका उनका कनिष्ठ न्यायाधीशहरु टेरेनन् ।

सर्वोच्चका न्यायाधीशहरुले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रधानन्यायाधीश जबराले भोलि सोमबार अपरान्ह १ः३० बजेका लागि बोलाएको ​सर्वोच्च अदालतको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई अर्को धक्का लाग्नुको साथै उनको बहिर्गमन बाटो बन्दै गएको विश्लेषण गर्न सकिन्छ ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा भोलि बोलाएको फूलकोर्टमा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबारमात्रै बारका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

बारले प्रधानन्यायाधीश राणाकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै शुरु गर्न माग गरेपछि उनले फुलकोर्ट बोलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश जबरा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन् । राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपटक उनी विवादमा तानिएका थिए ।

इजलास निर्माणमा मनोमानी गर्नु, अदालतभित्र बढ्दो अराजकता/अनियमितता नियन्त्रण गर्न नसक्नु, उल्टै त्यसको कारक बन्नुजस्ता थप कारण उनी जटिल डिलमा पुगेका हुन् । मातहतका न्यायाधीश, कानुन व्यवसायी (बार), पूर्वप्रधानन्यायाधीश/न्यायाधीशहरू खुलेरै राणाको बहिर्गमनमा बोल्न थालेका छन् ।

न्यायिक इतिहासमै पहिलो पटक बहालवाला प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका पूर्वन्यायाधीशहरू मैदानमा उत्रेका छन् । न्यायपालिकामा आँच पुर्‍याएको अभियोग दर्ज गरेका छन् । पूर्वन्यायाधीश फोरमले १६ बुँदे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्छ र यो वाञ्छनीय र अनिवार्य पनि देखिएको छ ।’

प्रधानन्यायाधीश जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई भेटेका थिए ।

एकपछि अर्को विवादास्पद कदमका कारण चुनौतीले घेरिएका जबराले सहानुभूति खोज्न अग्रजहरूलाई भेटेको कानुन व्यवसायीहरूले बताएका छन् । चार पूर्वप्रधानन्यायाधीशलाई (वारेस पनि नराखी) आफैं हाजिर हुन आदेश दिने न्यायाधीश मनोजकुमार शर्मालाई नै लिएर जबरा घरघरमा गएका थिए ।

प्रधानन्यायाधीश जबराको कोटामा वर्तमान मन्त्रिपरिषद्मा गजेन्द्र हमाल उद्योग तथा वाणिज्यमन्त्री नियुक्त भएसँगै त्यसको सर्वत्र विरोध शुरु भएको थियो । गैरसांसद हमाल मन्त्री नियुक्ति भएको विषयलाई संविधानवादमाथिको आक्रमणका रूपमा समेत विश्लेषण गरिएको छ ।

संविधानको जगेर्ना तथा विधि पद्धतिको विषय उठाउन नथाक्ने सत्तारूढ गठबन्धनले संविधानवाद तथा शक्ति पृथकीकरण एवं सन्तुलन र नियन्त्रणको सिद्धान्तलाई समेत बेवास्ता गर्दै प्रधानन्यायाधीशको पहललाई सहर्ष स्वीकार गरेका छन् । दलहरूका नेताले प्रधानन्यायाधीशको सिफारिसमा गैरसांसदलाई मन्त्रीमा सहर्ष स्वीकार गर्नुका विभिन्न कारण रहेको विश्लेषणसमेत गरिएको छ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिने अल्टिमेटम दिएको थियो । नेपाल बारले विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको थियो । साथै प्रधानन्यायाधीश जबराको राजीनामा नआए उनीमाथि छानविन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने मागका साथ आन्दोलित हुने कानून व्यवसायीहरुको तयारी गरेका छन् ।

प्रसंग लोकमानसिंह कार्कीकै बहिर्गमन र दुर्दशाको बाटोतिर लागौ । तत्कालीन राजाको हुकुम प्रमाङ्गीबाट राजसभा स्थायी समितिको कर्मचारी हुँदै निजामती सेवामा छिरेका लोकमानसिंह कार्की तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा मुख्यसचिव भएका थिए । थुप्रै अनियमिततामा मुछिएका कार्की पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्न पुगेका थिए ।

कार्कीले अख्तियारको प्रमुख भएपछि अख्तियारकै अख्तियारीको यति दुरुपयोग गरेकी जसको कुनै सीमा रहेन । कार्कीले आफूलाई एउटा शक्तिकेन्द्रका रूपमा स्थापित गर्दै कानुनी राज्य र लोकतान्त्रिक पद्धतिको धज्जी उडाए ।

संविधानअनुसार योग्यता नपुगेका कार्कीलाई भारतीय खुफिया एजेन्सी र को चलखेलमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले अख्तियार प्रमुख सिफारिश गरेका थिए भन्ने पनि गरिन्छ । अनुमान गर्न सकिन्छ, त्यतिखेर उनलाई भारतीय संस्थापनकै धाप भन्ने पनि धेरै छन् । प्रमुख आयुक्त बनेपछि कार्कीले आफूलाई दक्षिणी धाप रहेको भन्दै नेताहरूलाई धम्क्याउन कहिल्यै छाडेनन् ।

पद तथा शक्तिको दुरूपयोग गरी संवैधानिक निकाय बद्नाम गराउने कार्यमा संलग्न कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित भएका थिए । निलम्बित भएपछि पनि उनले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गर्ने कोशिश समेत गरेका थिए । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गर्न छोडेका थिएनन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्तापछि स्वत: पद निलम्बित हुने भएकाले सोको जानकारी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद् र लोकमानसिंह कार्कीलाई पठाइएको थियो ।

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको थियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको थियो ।

लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा अहिलेका प्रधानन्यायाधीश जबरा हिडेको देखिन्छ । भनिन्छ सत्ता र शक्ति क्षणिक हुन्, कसैले पनि फुर्ति लगाउनु हुदैन । हिजोका राजा महाराजाहरु साधारण नागरिक भएर बसेका छन् भने हिजोका गाउँका सामान्य परिवारमा जन्मेकाले देशको शाशन सत्ता हाकिरहेका छन् ।

अलि अध्यात्मिक भएर विश्लेषण गर्ने हो भने यो ब्रम्हाण्डमा शक्ति सन्तुलनको नियम लागू हुन्छ । हिजो बालुवाटारमा सिंहझैँ गर्जिने केपी ओली बालकोटको बार्दलीमा पुगेर डुक्रेको अझै हाम्रो मानसपटलमा ऐनाझैँ झल्झली छ ।

कहिले कसको पालो कहिले कसको ? बढी उम्लियो भने त्यो तरल पदार्थ भाँडोवाट पनि पोखिन्छ । भौतिकशास्त्रमा ग्यासमा लागू हुने सिद्धान्तमा ‘तापक्रम’ले कणहरूको शक्ति निर्धारण गर्दछ । भौतिकशास्त्रमा अनिश्चितताको सिद्धान्तले हामीलाई कुनै सूक्ष्म कणको स्थान र गति एकैसाथ किटान गर्न सकिंदैन ।

सवै सत्ता र शक्तिको पछि मात्र दगुर्ने छ यहाँको चलन । सधै सत्ता र शक्तिको पछि लाग्नु बिडम्वनाको कुरा हो । नेपालका सधै सत्ता र शक्तिको पछि दगुर्ने रोग भने नयाँ होइन । तर यो मानवीय गुण पनि हो ।

असल मनुष्यले के पनि बुझ्नु पर्छ भने मानिसको शारारिक, मानसिक र राजीतिक शक्ति तथा सत्ता भनेको क्षणिक हो । यहाँ कसैले पनि अहिले घमण्ड गर्नुपर्दैन । सत्ताले शक्ति पैदा हुन्छ तर यी दुवै क्षणिक हुन् ।

यो पनि पढ्नुहोस्

चोलेन्द्रलाई अर्को धक्का : फुलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय

प्रधानन्यायाधीश राणालाई नेपाल बारले दियो १५ दिने अल्टिमेटम

प्रधानन्यायाधीश राणा चार पूर्वप्रधानन्यायाधीशको घरदैलोमा गएको खुलासा

प्रधानन्यायाधीश राणा बहिर्गमनको दबाबमा

प्रधानन्यायाधीश राणालाई राजदूतमा भाग, सम्धीलाई बनाउन दबाब

प्रधानन्यायाधीशको बार्गेनिङ अस्त्र : विचाराधीन मुद्दा फैसला त्रासले निकटलाई मन्त्री

सर्वोच्चद्वारा अख्तियारको प्रमुख लोकमान सिंह कार्की बर्खास्त

लोकमानसिंह कार्कीलाई लगाइएका ९ अभियोगहरू

अख्तियार प्रमुख कार्कीले भने-‘महाअभियोग फेस गर्छु राजीनामा दिन्न’

अदालत आदेश लत्याउँदै लोकमानसिंह कार्की


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !