१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त : अर्थमन्त्री तामाङ र राज्यमन्त्री बोहराले लिए सपथ


अर्थमन्त्री तामाङ र राज्यमन्त्री बोहराले लिए सपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई जना नयाँ मन्त्री नियुक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् भने अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै शुक्रबार नै शपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन् ।

गत भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

तामाङ एमालेका पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपा विवाद हुँदा ओली पक्षमा थिइन् । तर तामाङले २१ भदौमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि उनलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका १/१ जना सांसद छन् ।

एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा सहभागी भईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !