१४ बैशाख २०८१, शुक्रबार

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति


माधव नेपाल, राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य

मकवानपुर । आफूलाई धोका दिएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने माधव नेपालले तयारी गरेका छन् ।

पहिला माधव नेपाल पक्षमा रहेकी शाक्य ओली समूहमा प्रवेश गरे लगत्तै संसदीय दलकाे नेतामा चयन भएसंगै बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी थिइन् । नेपालले एमाले फुटाएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि शाक्य एमालेमै फर्किएकी थिइन् ।

ओली सरकार हुँदा नै मुख्यमन्त्री बन्ने चर्चामा रहेकी उनी एमाले विभाजन भएपछि उनी ओली समूहमा फर्किएर मुख्यमन्त्री भएकी थिइन् । एमाले विभाजन गराउन उक्स्याएर अन्तिममा आएर आफूलाई धोका दिएको भन्दै नेता शाक्य लगायतका विगतमा एमालेका तेस्रो धारको रुपमा चिनिएका नेताहरुसँग नेपाल रुष्ट भएका छन् ।

यसरी ‘पालोको पैचो’ फेर्न उनले विपक्षी गठबन्धनका अन्य दलसँग छलफल गरेर शाक्यलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने रणनीतिमा रहेका छन् । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै नेकपा (एस) का नेताहरुले आलोचना गर्दै आएका छन् । मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टीमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्ने बताएका छन् ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा मुख्यमन्त्री शाक्यलाई बहुमत छ । बागमतीमा ओली पक्षका ३५ र माधव पक्षका २१ सांसद छन् ।

माधव पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा शाक्यको सत्ता टिक्न सक्ने अवस्था रहँदैन । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र १ जना स्वतन्त्र सांसद रहेका छन् ।

एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तिमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ । समाजवादीको १० देखि १२ जना सांसदले बहुमत पुग्ने भएकाले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी भित्रभित्रै छलफललाई भई रहेको हो ।

पार्टी विभाजन भएपनि शाक्यले एमाले र समाजवादीको संयुक्त सरकार बनाउने भित्रभित्रै प्रयत्न गरेको बुझिएको छ । आफ्नो सरकार टिकाउनका लागि शाक्यले नेपालनिकट सांसदहरुलाई विभिन्न अवसरको प्रलोभन दिएको सांसद बताउँछन् ।

नेपालनिकट सांसद पार्टी दर्ता भएको मितिले २१ दिनभित्र समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने र उनले विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत नपाई सरकार ढल्ने देखिन्छ । राजेन्द्र पाण्डेका अलावा प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण खनाल एकीकृत समाजवादीमा लागिसकेका छन् ।

यसका साथै प्रदेशसभामा सांसद मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर, माधव पौडेल, लक्ष्मण लम्सा ललगायतले समाजवादी रोज्ने बुझिएको छ । हाल ३ सदस्यीय मात्रै रहेको शाक्य नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा ओली पक्षका केशवराज पाण्डे रहेका छन् ।

मुख्यमन्त्री शाक्यलाई केपी शर्मा ओली एवं डोरमणि पौडेलकै शैली अपनाएको आरोप पनि लागेको छ । विगतमा अविश्वासको प्रस्ताव आउँदा अचानक प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालीन मुख्यमन्त्री पौडेलको शैलीमा शाक्य हिड्न थालेको आरोप लागेको छ ।

यो पनि पढ्नुहोस्

माधव नेपालको खुलासा : हाम्रो साथ छाड्ने नेताहरुले पहिल्यै नै नयाँ पार्टी दर्ता गराइसकेका थिए

पत्रकार सम्मेलनमा नेपालले भने- राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन्

बागमतीमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन

नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु