२३ बैशाख २०८१, आइतबार

प्रदेश १ मा एमाले विभाजनको असर : मुख्यमन्त्रीवाट शेरधन आउट, भीम आचार्य इन


शेरधन राई र भीम आचार्य

विराटनगर । ‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ नेकपा एमाले विभाजन भएसँगै यसको असर प्रदेश सरकारमा पनि परेको छ । एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले (एकीकृत समाजवादी) दल दर्ता गरी निर्वाचन आयोगवाट हिजो साँझ प्रमाणपत्र समेत पाइसकेका छन् ।

प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ​​​​​​​मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै आचार्यले सपथग्रहण गरेका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

पार्टी विभाजन भएसँगै प्रदेश १ एमाले नेतृत्वको सरकारमा पहिला माधव नेपाल निकट तर अहिले केपी शर्मा ओलीनिकट नै भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भई सपथग्रहण समेत गरिसकेका हुन् ।

आजै मात्र प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता एवं मुख्यमन्त्रीले शेरधन राईले दुवै पदवाट राजीनामा दिएका थिए । आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकमा शेरधन राईले एमालेका संसदीय दलको नेतावाट राजीनामा दिएका थिए ।

राईले राजीनामा दिएलगत्तै नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका थिए । शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका थिए ।

यस्तै प्रदेश प्रमुखको कार्यालयमा गएर शेरधन राईले मुख्यमन्त्री पदवाट पनि राजीनामा दिएका थिए । सत्ता टिकाउन ओलीनिकट नै भएका यसअघिका शेरधन राईले एमाले प्रदेश १ संसदीय दलको नेता र मुख्यमन्त्री पदवाट राजीनामा दिएका हुन् ।

दल विभाजनपछि पहिलोपटक दलको बैठक बस्न लागेको हो । तर, को सांसद कुन दलतिर जाने भन्ने निर्क्योल भइसकेको छैन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तर्फ जाने सांसदहरूको टुंगो समेत लागिनसकेको अवस्थामा दलको बैठक बोलाइएको हो ।

एमाले विभाजन भएपछि निर्वाचन आयोगमा नेता तथा सांसदलाई दल रोज्न २१ दिनको समय उपलब्ध गराइएकोले त्यो समयअघि नै प्रदेश १ मा दलको बैठक बोलाएर सरकारको नेतृत्व फेरिएको नेपाल पक्षीय सांसदले आरोप लगाएका छन् ।

मुख्यमन्त्रीमा भीम आचार्यलाई नियुक्त गराएर समाजवादीतर्फ नेपाल पक्षका सांसदलाई जानबाट रोक्न प्रयास गर्न खोजिए पनि आचार्य नै मुख्यमन्त्री बने पनि एक महिनाभन्दा लामो समय जान नसक्ने नेपाल निकट सांसदले बताएका छन् ।

९३ सदस्यीय प्रदेश१ को प्रदेशसभामा एमालेको ५१ सांसद भएकोले एक्लैको बहुमत छ । समाजवादीमा जानेहरूको संख्या यकिन भइ नसकेकोले नेपाली कांग्रेसका २१, जसपाका ३ जना, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद छन् ।

आचार्य मुख्यमन्त्री भएपनि एक महिनापछि विश्वासको मत लिन कठिन हुने नेपाल पक्षका सांसदको बुझाइ रहेको छ । हाल प्रदेश १ प्रदेशसभामा स्पष्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, प्रदेश प्रमुखसमक्ष लिए सपथग्रहण

प्रदेश १ मा शेरधन राईले दिए संसदीय दलको नेता र मुख्यमन्त्री पदवाट राजीनामा

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !