१० जेष्ठ २०८१, बिहिबार

सभामुखमाथि ओलीको कटाक्ष : १४ सांसदलाई पदमुक्त नगरी दाँत टाल्न अस्पताल जानुभयो


केपी ओली र अग्नि सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरी ९ दिनसम्म थन्क्याएर दाँत टाल्न अस्पताल गएको कटाक्ष गरेका छन् ।

आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सभामुखले सूचना टाँस नगरेको भन्दै गुनासो गरेका हुन् ।

ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाउदै आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेश अनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त नगरेको दावी गरे ।

उनले सभामुखको भूमिका निष्पक्ष रहन नसकेको बताउदै सम्माननीय सभामुख साझा व्यक्तित्व, निष्पक्ष रहनुपर्नेमा उहाँले सो भूमिका निभाउन नसकेको आरोप लगाए । उनले सभामुखको जिम्मेवारीमा निष्पक्ष रहन नसक्ने, कानुनको पालना गर्न नसक्ने, मर्यादामा बस्न नसक्ने कुरा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद् रहेको बताए ।

पार्टीले कारवाही भएको जानकारी गराइसक्दा पनि ती सांसदलाई पदमुक्त नगर्नु बेइमानी भएको ओलीको तर्क छ । उनले निर्वाचन आयोगलाई पनि सशरीर उपस्थित नभएको व्यक्तिहरुलाई सनाखत प्रक्रियामा सामेल नगर्न अनुरोध गरे ।

एमालेले पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आयोजना पत्रकार सम्मेलन आयोजना गरेको हो । आज भएको पत्रकार सम्मेलनमा पार्टी जीवनको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा एमालेको धारणा राखेको हो ।

यो पनि पढ्नुहोस्

पत्रकार सम्मेलनमा ओलीले भने- अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु

माधव नेपालले सुनको पिंजडा लगेर नेताहरुलाई चन्द्रागिरीमा राखे : केपी ओली

पत्रकार सम्मेलनमा योगेशले भने- दल विभाजन हुँदा अतिवादी शक्ति मौलाउने खतरा बढ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !