८ बैशाख २०८१, शनिबार

जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौं : बामदेव गौतम


बामदेव गौतम

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच÷पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाउनुभयो । विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राख्नुभयो ।

“जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्”, उहाँले भन्नुभयो, “त्यसकारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ ।”

नेपाली काँग्रेसका अनिता देवकोटाले कोभिड सङ्क्रमणबाट प्रभावित शैक्षिकसत्रलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित गराउन माग गर्नुभयो । उहाँले कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयका लागि शिक्षक दरबन्दीको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का महेशकुमार महराले सशस्त्र जनयुद्ध र आन्दोलनका क्रममा विस्थापन भएका शिक्षकलाई जाँचबुझ समितिको सुझावका आधारमा पुनःस्थापना गर्न माग गर्नुभयो । ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !