१४ बैशाख २०८१, शुक्रबार

योगेशद्वारा ओली र नेपालसँग युथ फोर्स र अखिल फोर्सको तत्काल खारेजीको माग

'अनेरास्वबियू र युवा संघलाई ओझेलमा पार्ने युथ फोर्स र अखिल फोर्सको औचित्य के छ ?'


योगेश भट्टराई

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका सचीव योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसँग युथ फोर्स र अखिल फोर्सको तत्काल खारेजीको माग गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज राती लेख्दै भट्टराईले अनेरास्वबियू र युवा संघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक र बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ भएको स्पष्ट पारेका छन् ।

समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्न उनले माग गरेका हुन् ।

अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ भन्दै उनले के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ? भनेर पनि प्रश्न गरेका छन् ।

उनले पञ्चायत अखिलले नै फाल्यो भनेर सम्झदै २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लडेको भन्दै माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवा संघले गरेको पनि स्मरण समेत गरेका छन् ।

पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन् । उनले यदि हो भने हामी आफ्नो र कम्युनिष्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नुपर्ने औल्याएका छन् ।

उनले शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रन दिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम नभएकोले यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल समक्ष हार्दिक अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्

महेश बस्नेतको उपस्थितिमा ‘युथ फोर्स’का सयौं युवालाई एकदिने कमाण्डो तालिम

‘युथ फोर्स’लाई टक्कर दिन ‘अखिल फोर्स’ गठन, माधव नेपालको घर घेर्न आउनेको खुट्टा भाँचिदिने

एमालेको ओली निकट युवा संघले ब्यूँतायो ‘युथ फोर्स’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !