१२ बैशाख २०८१, बुधबार

महेश बस्नेतको उपस्थितिमा ‘युथ फोर्स’का सयौं युवालाई एकदिने कमाण्डो तालिम


'युथ फोर्स' कमाण्डो तालिम

भक्तपुर । नेकपा एमाले केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतको उपस्थितिमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको युथ फोर्सले आफ्ना सयौं कार्यकर्तालाई एक दिने कमाण्डो तालिम दिएको छ ।

भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आज आयोजित एक कार्यक्रमका बीच युथफोर्सका सदस्यहरुलाई तालिमको सुरुवात गरिएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले केहि दिनअघि मात्र ‘युथ फोर्स’ ब्युत्याएको थियो । युथ फोर्सले पार्टी, देश र जनताको निम्ती आवश्यक परेमा खुकुरीको धार भएर निस्कने उद्घोषका साथ क्षितिज थेवेको संयोजकत्वमा ‘युथ फोर्स’ पुनर्गठन गरेको थियो ।

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका ईन्चार्ज महेश बस्नेतले बताएका थिए । उनले युथ फोर्सलाई नेकपा (एमाले) माथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिएका थिए ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवा संघले थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको थियो । कार्यक्रममा युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताएका थिए ।

सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो । युथ फोर्सले राज्यका ज्याद्धती र जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने बताएको छ ।

विदेशी शक्तिहरुको आडमा मुलुकको व्यवस्थालाई नै समाप्त पार्ने ग्राण्ड डिजाईनमा सरकारवादी शक्तिहरु लागि परेकाले अबका दिनमा मुलुकको रक्षा, व्यवस्था तथा संविधानको रक्षाका निम्ती युथफोर्सले देशव्यापी तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ ।

युथफोर्सले केही समय भित्रमा नै कम्तिमा पनि ५० हजार युवाहरुलाई परिचालन गरी कानुनलाई हातमा लिएर नभई साथमा लिएर पार्टी, जनता, व्यवस्था तथा विदेशीको इसारामा चल्ने सरकारको विरुद्धमा प्रतिरोध गर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले आफूहरूले कानुनलाई हातमा नलिने बताए । उनले भने, ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ । हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दुःख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दुःख दिँदैनौँ ।’

नेता बस्नेतले युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिए । उनले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउदै सजग भएर अघि बढ्न पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स मुलुक, जनता तथा पार्टीको लागि विना वर्दिको प्रहरी भएको बताए । युथफोर्स जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।

यता एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट युवाहरुले तपेन्द्र शाहीको अध्यक्षतामा ‘अखिल फोर्स’ गठन गरेका छन् । ओलीनिकट युवाहरुले माधव नेपालमाथि आक्रमणको आक्रोश पोखिरहेको र घर घेर्ने चेतावनी दिएको भोलिपल्टै नेपालनिकट युवाहरुले अखिल फोर्स गठन गरेका हुन् ।

उनीहरुले माधव नेपालको घर घेर्न आउनेहरुको खुट्टा भाँचिदिने समेत चेतावनी दिएका थिए । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अस्ति बिहीबार ‘अखिल फोर्स’ गठन गरेका हुन् ।

नेपाल निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली वरिष्ठ नेता नेपाललाई आक्रमणको चेतावनी दिनेहरुमाथि कडा रुपमा प्रस्तुत भएका थिए । यसरी ओलीनिकट ‘युथ फोर्स’ र नेपालनिकट ‘अखिल फोर्स’ सक्रिय हुँदै जाँदा दुवै यूवा संगठनवीच एक-अर्कामा टक्कर सिर्जना भई द्वन्द्व सिर्जना हुने खतरा देखिएको छ ।

यो पनि पढ्नुहोस्

‘युथ फोर्स’लाई टक्कर दिन ‘अखिल फोर्स’ गठन, माधव नेपालको घर घेर्न आउनेको खुट्टा भाँचिदिने

एमालेको ओली निकट युवा संघले ब्यूँतायो ‘युथ फोर्स’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !