१३ बैशाख २०८१, बिहिबार

एमालेको ओली निकट युवा संघले ब्यूँतायो ‘युथ फोर्स’


युवा संघले ब्यूँतायो 'युथ फोर्स'

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युत्याएको छ । काठमाडौंमा सोमबार बसेको युवा संघको बैठकले क्षितिज थेवेको नेतृत्वमा ‘युथ फोर्स’को पुनर्गठन गरेको हो ।

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका ईन्चार्ज महेश बस्नेतले बताए । उनले युथ फोर्सलाई नेकपा (एमाले) माथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए ।

बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट जाँदा स्वागत गर्न समेत निर्देशन दिए । उनले भने, ‘बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन हुनेछ । हजारौं समर्थकले स्वागत गर्नेछन् ।’

बस्नेतले एमाले छिट्टै सरकारमा फर्किने दाबी गरे । सर्वोच्चको आदेशपछि प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाले एक महिनापछि विश्वासको मत नपाएपछि एमालेले बहुमतसहित दाबी गर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !