२६ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीशको सभामुखका वकिललाई प्रश्न– १४६ सांसद आएको अदालतले प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ ?


चोलेन्द्र शमसेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाका १४६ सांसद सर्वोच्च अदालतमा आएको प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ भनी सभामुख अग्नि सापकोटाका वकिललाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका तर्फबाट संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई जबराले बहुमत सांसद अदालत आएको भनेर प्रमाणीकरण गर्दा राम्रो हुन्छ भनेर प्रश्न गरेका हुन् ।

जवाफमा अधिवक्ता पोखरेलले सर्वोच्चले संविधानको धारा ७६(५) को आधार देखाइदिएर व्याख्या गर्दा पुग्ने बताए । प्रधानन्यायाधीश जबराले फेरि प्रश्न गरे– ‘धारा ७६(५) अनुसार सरकार बन्न सकेन भनेर ७६ (७) मा पुगिसक्यो नि !’ फेरि जबराले प्रश्न गरे ‘उपधारा २ बमोजिमको सदस्य भनेको के हो ? ७६ (५) का २ किन जोडियो ?’ पोखरेलले जवाफ फर्काए– धारा ७६ (५) सांसदहरू स्वतन्त्र हुने धारा हो ।

प्रधानन्यायाधीश जबराले पोखरेललाई संविधानको धारा ७६ को उपधारा (२) र (५) को भिन्‍नता के भनेर प्रश्‍न पनि गरेका छन् । प्रधान्यायाधीशले संविधानको धारा ७६ को (२) र (५) को भिन्‍नताबारे प्रश्‍न गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले भने, ‘संविधानको धारा ७६ को उपधारा (२) मा दल भनिएको छ, (५) मा सदस्य प्रधानमन्त्री पनि सदस्य नै हुने हो । (२) र (५) को भिन्‍नता के हो ?’

जबराको प्रश्‍नमा पोखरेलले उपधारा (५) मा विश्‍वासको मत प्राप्त गर्ने सक्ने आधार भनिएको पनि प्रष्‍ट पारे । ‘(२) मा दल भनिएको छ । (५) मा विश्‍वासको मत प्राप्त गर्ने सक्ने आधार भनिएको छ । (२) नै हो भने (५) किन राख्नुपर्‍यो ? दल भनेको छैन । आधार भनेको छ । (२) बाहेकको विकल्प (५) ले खोजेको हो,’ पोखरेलले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा चलिरहेको बहस जारी रहेको छ ।

यो पनि पढ्नुहोस्

झोक्किँदै प्रधानन्यायाधीशले सभामुखका वकिललाई भने- विषयमा आउनुस्, किन हाउसको कुरा ल्याउनुहुन्छ ?

सभामुखका वकिललाई प्रधानन्यायाधीशले सम्झाए संविधानको धारा ७६(७)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !