२८ बैशाख २०८१, शुक्रबार

देउवा निवासमा कांग्रेस, माओवादी र जसपा बैठक बस्‍दै : नयाँ सरकार गठनबारे छलफल गर्ने


तीन दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गर्न कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरूलाई बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ३ दिनको समयसिमाभित्र वैकल्पिक सरकार गठनको दावी गर्न कांग्रेसका सभापति देउवाले पहल थालेका हुन् ।

शीर्ष नेताहरुबीच अनौपचारिक छलफलहरु चलिरहेको र दिउँसो २ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ । दिउँसो दलहरूसँग बैठक बस्‍नुअघि कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्‍दैछ ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवले हिजो सोमवार नै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए ।त्यसलगतै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्‍ठ जसपाबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत शीर्ष नेताहरू सहभागी हुनेछन् । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहसँग छलफल जारी रहेकाले बैठक उपस्थित हुने/नहुनेबारे टुंगो नलागेको कांग्रेसका एक नेताले बताए ।

त्यस्तै कांग्रेसले नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहसँग छलफल गरिरहेको छ । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको कांग्रेसले जनाएको छ ।

माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान अंकगणित हेर्दा ओलीविरुद्ध गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ । नेपाल पक्षलाई पनि बैठकमा बोलाउनुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !