२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ओली भन्छन्, ‘सरकार र संसद् राम्रोसँग नचले फेरि पनि विघटन हुन्छ’


राष्ट्रपति भवन शीतल निवासमा भएको सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग नचलेमा फेरि पनि संसद् विघटन हुने तर्क राखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनमा जानका लागि दलका नेताहरूलाई आग्रह समेत गरेका छन् ।

ओलीले राष्ट्रपतिसँगै बसेर ताजा जनादेशमा जान दलहरूलाई प्रस्ताव गरेका हुन् । सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका हुन् । उक्त बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो । उनले प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि समेत जनाएका थिए ।

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएकी थिइन् । राष्ट्रपतिको आशय पनि ताजा जनादेशमा जाऊँ भनेर दलहरूलाई मनाउन सर्वदलीय बैठक राखेको देखिएको थियो ।

यो पनि पढ्नुहोस्

यस्तो देखियो शीतल निवासमा भएको सर्वदलीय बैठक (फोटो फिचर)

शीतल निवासमा सर्वदलीय बैठक जारी, काे काे भए सहभागी ?

खनाल र नेपाल राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !