२० बैशाख २०८१, बिहिबार

अन्तत: शोक प्रस्ताव पारित गरेर सकियो संसद्को तेस्रो बैठक, अर्को बैठक चैत ६ गते बस्ने


प्रतिनिधिसभा फाइल फोटो

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बसेर सकिएको छ । अन्तत: सरकारले संसद्लाई बिजनेस नदिइएकोले आज बसेको प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गरेर अर्को बैठक चैत ६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको हो ।

आज बसेको प्रतिनिधिसभाको बैठकले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा निधनमा दुःख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको छ । यादव २०७० सालको संविधानसभामा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि दलका नेताहरूले सम्बोधन गरेनन् । संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने विषय मात्रै समावेश गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्लाई बिजनेस नदिइएको भन्दै उनले सरकारले संसदलाई प्रभावकारी बनाउन नचाहेको उल्लेख गर्दै सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाउदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

पुन:स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सकियो, अर्को बैठक चैत ३ गते बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !