१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


सङ्घीय संसद फाइल फोटो

काठमाडौँ । पुन:स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । आज मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि दलका नेताहरूले सम्बोधन नगर्ने भएका छन् । संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने विषय मात्रै समावेश छ । प्रतिनिधिसभाको बैठकको तयारीका लागि सोमबार दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले संसद्लाई बिजनेस नदिइएको भन्दै उनले सरकारले संसदलाई प्रभावकारी बनाउन नचाहेको उल्लेख गरेका छन् । खाँणले सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाएका छन् ।

कार्यव्यवस्था समितिको बैठकमा बसेका ओली पक्षीय सत्तारूढ नेकपा एमालेका सांसद विशाल भट्टराईले बैठक सामान्य विषयमा छलफल भएर टुंगिएको बताए । भट्टराईले अहिले नै अध्यादेश संसदमा पेश गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । सरकारले संसद्लाई पर्याप्त बिजनेस दिन चाहेको पनि उनले दाबी गरे ।

प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएर दुईवटा बैठक बस्दा समेत नेताहरूले बोलेका छैनन् । तेस्रो बैठकमा नेताहरूले सम्बोधन गर्ने कार्यसूची छैन । संसदीय परम्पराअनुसार संसद् सुरु हुँदा सबै दलका नेताले शुभकामना मन्तव्य दिने विषयमा समेत सरकारले रुचि नदेखाएको खाणको भनाइ छ ।

त्यस्तै, अध्यादेश पनि अघि बढाइएको छैन । कार्यव्यवस्था समितिको बैठकमा अध्यादेश प्रस्तुत गर्ने विषयमा पनि कुरा मिल्न सकेन । २३ पुस सरकारले प्रस्तुत गर्न खोजेको अध्यादेशमा विरोध भएपछि त्यसपछिका बैठकको कार्यसूचीमा समावेश गरिएको छैन ।

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘अध्यादेश अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको छ । कानुनतः कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भएको छ, तर टुंगिएको छैन ।’

सरकारले अध्यादेश पेश गर्ने लगायत विजनेश नदिएकोले आज लामो समय प्रतिनिधिसभा बैठक नबस्ने भएको छ । तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभा अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची पनि छ ।

यो पनि पढ्नुहोस्

पुन:स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सकियो, अर्को बैठक चैत ३ गते बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !