१४ बैशाख २०८१, शुक्रबार

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक जारी, के गर्ला त निर्णय ?

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक जारी


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ । बहुप्रतिक्षित केन्द्रीय कमिटी बैठकले के निर्णय गर्ला भन्ने बारेमा थप चासो बढेको छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेपछि पछिल्लो राजनीतिक घटनाक्रममा अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएर प्रतिनिधिसभा पुन:स्थापना गरेपछि प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको भन्दै प्रचण्ड-नेपाल समूह प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने तर्क राख्दै आएको समयमा उक्त समूहको बसिरहेको केन्द्रीय कमिटी बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताहरु नयाँ सरकारको गठनका लागि दौडधूप गरिरहेका छन् । नयाँ सत्ता समीकरण गरेर सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

तर नेपाली काँग्रेसले नेकपाको आधिकारिकता नटुंगिएसम्म नेकपाको कुनै समूहलाई सहयोग नगर्ने निर्णय गरिसकेको छ भने जसपाका नेताहरुले त प्रचण्ड-नेपाल समूहलाई तपाईहरुको कुन पार्टी हो ? पहिला स्पष्ट गरेर आउनुहोस् भनेर प्रश्न उठाई कटाक्ष समेत गरिसकेपछि उक्त समूहलाई हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ ।

तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर संसदीय दलवाट आफूलाई हटाउन र संसदमा अविश्वास प्रस्ताव ल्याएर हटाउन पनि चुनौती दिदै आएका छन् । उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसदमा दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाउने निर्णय गरेपछि ओलीलाई झन् कम्फर्टेबल भएको छ भने वर्तमान विकसित राजनीतिक घटनाक्रम हेर्दा उक्त समूह झन् ठुलो दवावमा रहेको छ ।

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले यसअघि नै संसदीय दलको नेताबाट केपी ओलीलाई हटाउने निर्णय गरेको थियो । ओलीलाई हटाएर प्रचण्डलाई नेता बनाउने निर्णय गरे पनि उक्त निर्णयले वैधानिकता नपाएपछि केन्द्रीय कमिटीमा एजेण्डा लैजान लागिएको हो ।

केही बेरअघि सकिएको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेण्डा केन्द्रीय कमिटी वैठकमा लैजाने निर्णय गरेको थियो । त्यसैले गर्दा अहिले जारी उक्त समूहको केन्द्रीय कमिटी बैठकले वैधानिक रुपमा केपी ओलीलाई संसदीय दलको नेतावाट हटाएर प्रचण्डलाई बनाउने निर्णय गर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

आज प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बस्दै

ओलीलाई हटाउन स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय

ओलीलाई झन् कम्फर्टेबल : प्रचण्ड-नेपाल समूहले अविश्वास प्रस्ताव अगाडि नबढाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !