४ बैशाख २०८१, मंगलबार

बादलले प्रचण्डसँग तुलना गरेका गोयबल्स को थिए ?


बादल, जोसेफ गोयबल्स र प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोयबल्सको संज्ञा दिएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा ओली समूहले आयोजना गरेको बृहत जनसभालाई आज सम्वोधन गर्दै मन्त्री थापाले ने प्रचण्डलाई गोयबल्ससँग तुलना गरेका हुन् ।

अहिले निकै चर्चामा रहेको शव्द हो गोयबल्स नीति । आखिर कहाँबाट आयो त यो शब्द ? नेपालको राजनैतिक क्षेत्रदेखि मिडिया क्षेत्रमा गोयबल्स नीति हावी भयो भन्दै बेला बेलामा निकै चर्चामा आउने गरेको छ । आखिर को थिए गोयबल्स र बादलले किन प्रचण्ड उनलाई तुलना गरे ? भन्ने चासो आम नेपाली नागरिकमा जाग्नु स्वाभाविक हो । आउनुस् यस वारेमा सविस्तार चर्चा गरौ ।

को थिए गोयबल्स ?

हिटलरको तत्कालीन संचारमन्त्री वा प्रचारमन्त्री थिए – गोयबल्स । गोयबल्स अनपढ नभई सन् १९२१ मा साहित्यमा विद्यावारिधि गरेको ३ वर्षपछि मात्रै नाजी पार्टीमा प्रवेश गरेका उनी सार्वजनिक भाषण कलामा निपुण थिए ।

हिटलरका अन्धभक्त्त गोयबल्सको एउटा मान्यता थियोे कुनै पनि कुरालाई बारम्बार दोहोर्याइ तेहेर्याइ भन्ने हो भने जस्तोसुकै असत्य कुरा पनि सत्य साबित गर्न सकिन्छ । गोयबल्स भन्थे, ‘असत्य भए पनि बारम्बार प्रचार गरेपछि जनताले स्विकार्न थाल्छन् ।’

गोयबल्सले सन् १९२७ ताका ‘देर अंग्रिफ’ आक्रमण शीर्षकको पत्रिका चलाए, जसको उद्देश्य नाजी पार्टीप्रति जनसमर्थन जुटाउनु र पार्टीको उग्रराष्ट्रवादी धारको प्रवर्द्धन गर्नु थियो । डा. जोशेफ गोयबल्सले सन् १९४० सम्म १४ वटा पुस्तकहरु लेखेका थिए ।

पेसागत जीवनको सुरुमा हिटलरका प्रचारमन्त्री जोसेफ गोयबल्स राजनीतिक प्रोपोगण्डायुक्त पर्चा लेख्ने व्यक्ति थिए । सन् १९३३ मा हिटलरको नाजी पार्टी बहुदलीय प्रतिस्पर्धाबाटै सत्तारुढ आएपछि उनी हिटलरका सबैभन्दा विश्वासपात्र व्यक्ति बनेका थिए ।

प्रचारमन्त्री हुनेबित्तिकै गोयबल्सले त्यसबेला उपलब्ध सञ्चार प्रविधि रेडियो र सिनेमामा आफ्नो पकड जमाउदै कुर्तक र दुष्प्रचारका लागि ती माध्यमहरुको प्रयोग गरेर पत्रकारहरुको तत्कालीन संगठन ‘एसोसिएसन अफ द जर्मन प्रेस’लाई आफ्नो नियन्त्रणमा ल्याउन सफल भएका थिए ।

उनकै प्रचार मन्त्रालयले पत्रकारको आचारसंहिता बनाइदिएर उक्त मन्त्रालयमा दर्ता भएर मात्रै पत्रकारले काम गर्न अनुमति पाउने व्यवस्था गर्नुका साथै कस्ता समाचार प्रकाशन गर्ने, कस्ता नगर्ने भनेर प्रचार मन्त्रालयले निर्देशिका नै जारी गरेको थियो ।

स्वदेश वा विदेशमा जर्मनी वा त्यहाँको सरकारको छवि धुमिल्याएको आरोपमा कुनै समाचार प्रकाशन/प्रसारण गरेबापत पत्रकारलाई सोझै श्रम शिविरमा पठाउने व्यवस्था गर्नुका साथै मृत्युदण्ड समेत हुन सक्थ्यो ।

हिटलरका विचार वा नाजी पार्टीको दर्शनलाई प्रवर्द्धन हुने गरी समाचार, विचार, सम्पादकीय आदि लेख्नु पर्ने बाध्यता थियो । हिटलरले आफूलाई जर्मनीको चान्सलर घोषणा गरेपछि प्रचार मन्त्रालयले जर्मनीका स्वतन्त्र प्रेसलाई पुरै ध्वस्त पार्न सफल भएका थिए ।

हिटलरको विचारधारा फैलाउन गोयबल्सद्वारा स्थापित प्रचार मन्त्रालयले महत्वपूर्ण भूमिका खेलेको थियो । दोस्रो विश्वयुद्धको समयमा प्रचार मन्त्रालयले जनताको दिमागमा यहूदी विरोधी भावना जगाउने काम गरेर यहूदीहरूलाई नरसंहार गरे ।

यसकारण प्रचार मन्त्रालयका प्रमुख जोसेफ गोयबल्स हिटलर जत्तिकै यहूदीहरूको नरसंहारको लागि जिम्मेवार थिए । गोयबल्सले नाजी प्रचारक, सम्पादक, प्रचारमन्त्री, युद्ध मन्त्री र एक दिवसीय जर्मन कुलपति लगायत विभिन्न भूमिका रहेका थिए । गोबेल्सलाई २० औं शताब्दीको सबैभन्दा डरलाग्दो युद्ध अपराधी मानिन्छ ।

के हो ‘गोयबल्स नीति’ ?

गोयबल्सको एउटा नीति थियोे कुनै पनि कुरालाई बारम्बार दोहोर्याइ तेहेर्याइ भन्ने हो भने जस्तोसुकै असत्य कुरा पनि सत्य साबित गर्न सकिन्छ । गोयबल्स भन्थे, ‘असत्य भए पनि बारम्बार प्रचार गरेपछि जनताले स्विकार्न थाल्छन् ।’ यो नीतिलाई अहिले ‘गोयबल्स नीति’ भनिन्छ । गोयबल्सले हिटलरको शाशन टिकाउन सबै कुरालाई बारम्बार दोहोर्‍याए सत्य साबित गर्न खोज्दथे ।

“यदि तपाइँ बारम्बार कथा भन्नुहुन्छ, यसले मानिसहरूलाई यो सत्य हो भनेर सोच्दछन् । त्यसैले तपाईले निरन्तर सन्देश फैलाउनु पर्ने हुन्छ । जब हामी व्यक्तिलाई केहि प्रचार गरिरहेका छौं, यो सरल हुनुपर्दछ । त्यहाँ केहि हाइलाइटहरू हुनुपर्दछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो लगातार दोहोरिएको हुन्छ । मैले फेरि भन्नु पर्छ।”

यो एडोल्फ हिटलरको प्रचार सूत्र थियो, जुन वास्तवमा जोसेफ गोयबल्सद्वारा निर्देशित थियो । गोयबल्सलाई हिटलरको वफादार सहयोगीका रूपमा मात्र होइन, तर प्रचारका जनकको रूपमा पनि चिनिन्छ । भनिन्छ कि यो ‘गोयबल्स नीति’ को कारणले हिटलर सत्तामा आएका थिए र सत्तामा रहन सक्षम भएका थिए ।

गोयबल्सले भनेका थिए, ‘थिंक अफ द प्रेस एज अ ग्रेट किबोर्ड अन ह्विच द गभन्मेन्ट क्यान प्ले ।’ अर्थात् प्रेसलाई यस्तो सुन्दर किबोर्डको रुपमा सोच्नुपर्छ, जसमा सरकारले मजासँग आफू अनुकूलका धुन बनाउन सकोस् । गोयबल्सले सम्हालेको प्रचार मन्त्रालय प्रोपोगण्डा मन्त्रालय पनि भनिने गरिन्थ्यो ।

जर्मनमा गोयबल्स नीतिको प्रभाव

हिटलरको वा गोयबल्सका भाषणहरू घरमा मात्र नभई सडकमा, पार्कमा, रेस्टुरेन्टहरूमा, बारहरूमा, लाउडस्पीकरहरू रेडियोमा बजाएका थिए । बारम्बार दोहोर्याइ तेहेर्याइको प्रचारले जर्मन नागरिकहरूमा यस्तो प्रभाव पर्यो कि उनीहरूले यहूदी विरोधी कुनै पनि कदम चाल्नुमा कुनै खराबी छैन भन्ने महसुस गर्न थालेका थिए ।

नाजी आन्दोलन शुरु हुनु अघि सामान्य जर्मन नागरिक र यहूदीहरू माझ शान्तिपूर्ण सम्बन्ध थियो । तर नाजी शासनको शुरुदेखि नै जर्मन नागरिकहरूले यहूदीहरूलाई शंकाको दृष्टिले हेर्न थाले ।

जर्मनमा गोयबल्सको अभियान सफल हुनुमा गोयबल्सका अपनाएका केही रणनीतिक प्रोपोगाण्डाहरूलाई लिन सकिन्छ । भावनात्मक भाषा तथ्यहरु बताउनुको सट्टा प्रचारमा प्रयोग गरेर प्रश्नको धेरै सरल र सजिलो उत्तर प्रस्तुत गरिएको थियो ।

मानिसहरूलाई अक्सर भनिन्थ्यो कि नाजी पार्टी र हिटलर बाहेक कुनै सक्षम नेता छैन । यदि कुनै पहल असफल भयो भने यो यहूदी वा कम्युनिष्टहरूमाथि दोष दिने गरिन्थ्यो । त्यो समयमा जर्मनमा राष्ट्रिय प्रतीकहरू जस्तै स्वस्तिकहरू, झण्डा व्यापक रूपमा प्रयोग गरिएको थियो ।

सन् १९४० को नोभेम्बरमा हिटलर एउटा समारोहमा आफ्नो भाषणलाई बिचमैं रोकेर बाहिरिए । लगत्तै नैं परिसरमा बिष्फोटन भयो । जसमा परेर उनको आफ्नै नाजी पार्टीका समर्थक अनि धेरै कार्यकर्ताहरु पनि मारिए । हिटलरले भने यो घटनालाई यसरी ब्याख्या गर्दै सहानुभूति जनाए, “नियतिले मलाई बचायो । सायद इश्वरको यहि इच्छा छ कि म आफ्नो मिशनलाई पुरा गरूँ ।”

यद्यपि बिष्फोटनको गुरुयोजना हिटलर कै निर्देशनमा तय गरिएको थियो । बिष्फोटनबाट आफु बल्ल बल्ल बाँचेको देखाएर जर्मन जनताको सहानुभूति बटुल्ने योजना बमोजिम गरिएको यो षड्यन्त्रलाई संचारमन्त्री जोशेफ गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले व्यक्त गरेको “नियतिले मलाई बचायो ” भन्ने महाबाणीलाई सैयौं चोटी आफु नियन्त्रित संचार माध्यममा प्रसारण गरे । नभन्दै त्यो सफल पनि भयो । जर्मनमा हिटलर सांचै नै भगवान नै हुन् कि भन्ने एक खालको भावना त्यस घटनाले जागृत गरायो ।

बादलले गोयबल्ससँग प्रचण्डलाई यसरी गरे तुलना

माघ २८ गते बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधामन्त्री केपी ओलीको मन्त्रीमण्डलका बहालवाला २ जना मन्त्रीले आफ्नो समूहमा आउने तयारी गरेको बताएका थिए ।

बादलले गोयबल्सको शैली अपनाउँदै भ्रम फैलाउने काम प्रचण्डले गरेको भन्दै योजना कहिल्यै सफल हुन नसक्ने समेत बताउदै भ्रम सिर्जना गरेपनि त्यस्ता भ्रम जनताले चिर्ने उनले दावी गरे । बादलले केही पूर्वमाओवादी धारका मन्त्रीहरु फेरि प्रचण्ड-नेपाल समूहतिर फर्किन लागेको भन्ने भ्रमण फैलाउन खोजेको भन्दै त्यसको खण्डन गरेका हुन् ।

‘केही नलागेपछि मन्त्रीहरु फर्केर प्रचण्ड-नेपालको समूहतिर फर्किदैछन् भन्ने भ्रम फाले । उनीहरुले किन यसो गर्दैछन् ? देशव्यापी रुपमा किन भ्रम फैलाउँदैछन् । यो उनीहरुको आतंक अभिव्यक्ति हो’, थापाले भने, ‘उनीहरुले गोबेल्स शैलीको सहारा लिँदैछन् । ती अवसरवादीहरु गोबेल्स बनेका छन् । उनीहरुले जनतालाई भ्रम दिँदैछन् । पार्टीले लिएको कदम प्रतिगामी हो भन्ने भ्रम फैलाइरहेका छन् ।’

उनले सरकारलाई अपदस्त गर्न प्रचण्ड-नेपाल समूह जस्केलाबाट लागि परेको भन्दै उनीहरु अग्रगामी हो कि ओली प्रतिगामी ? भन्दै बादलले प्रतिप्रश्न गर्दै प्रचण्ड-नेपाल समूहलाई गुटवादी र फुटवादीको संज्ञा दिए । गोयबल्स भन्थे, ‘असत्य भए पनि हजार पल्ट प्रचार गरेपछि जनताले स्विकार्न थाल्छन् ।’ आज नेपालका मूर्ख राजनीतिज्ञहरू त्यस्तै गोयबल्स शैलीमा रमाएका छन् ।’ मन्त्री थापाले भने ।

‘केपी ओली पक्षबाट फर्किनेको लामै लिस्ट छ । अरु त अरु उहाँले बनाएका २ जना मन्त्री फर्किनका लागि मसँग वार्ता गर्दैछन्‚’ प्रचण्डले भनेका थिए, ‘केपीजी तपाईं भ्रममा कति दिन बाँच्ने हो ? सक्नुहुन्छ भने तपाईंलाई सल्लाह दिन चाहन्छु – तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो । यो राष्ट्र र जनताका विरुद्ध । अझैपनि अलिकति ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुस् र पश्चातापको वक्तव्य निकाल्नुस् । तपाईंलाई नेपाली जनताले अलिकति ठाउँ दिन सक्छन् ।’

तर, ओली त्यसो नगरेर अझै मूर्खता गर्ने तयारीमा रहेको प्रचण्डले बताएका थिए । ‘तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ भन्ने मलाई थाहा छ। तपाई अझै निरंकुशतामा जानेमा हुनुहुन्छ मलाई थाहा छ। त्यसले कहिँ पुर्‍याउँदैन,’ प्रचण्डले भनेका थिए । प्रचण्डको यो अभिव्यक्तिलाई चोटिलो जवाफ दिदै बादलले प्रचण्डले झुटको खेती गरेर जनतालाई भ्रम सिर्जना गरेको आरोप पनि लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !