८ बैशाख २०८१, शनिबार

नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन : प्रधानमन्त्री ओली

प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न ओलीको चेतावनी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् ।

ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी सडकमा आयोजना गरेको बृहत जनसभामा बोल्दै उनले नेपालमा शान्तिको वातावरण बिथोल्न नदिने चेतावनी दिएका हुन् ।

‘मांसहारी आन्दोलन भनेर उहाँ (प्रचण्ड) ले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,’ ओलीले भने, ‘म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूर्ण दिन सुरु भएका छन् ।’

नेकपाको सभालाई रोक्नका लागि नेपाल बन्द गरिएको उल्लेख गर्दै उनले सर्वाहाराका नाममा आन्दोलन गर्छु भन्नेहरुले तरकारी बेच्ने व्यवसायी र ट्याक्सी जलाएकोमा आपत्ति प्रकट गरे । उनले बन्दमा भएको गरिबको क्षतिलाई सरकारले व्यहोर्ने प्रतिबद्धता जनाए ।

ओलीले आफू नेतृत्वको पार्टी नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको उल्लेख गरे । ‘कम्युनिष्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो,’ जनसभाको उपस्थितिले त्यसलाई पुष्टि गरेको बताउँदै उनले भने, ‘यो पार्टी नै देश बनाउने, स्वाधिनताको रक्षा र प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । लोकतन्त्रका लागि ७ दशक संघर्ष गरेको यही पार्टी हो ।’

प्रधानमन्त्री ओलीले आफूले सरकारले नेतृत्व गरेपछि सडक कालोपत्रे, सुरुङ मार्ग निर्माण, कृषि, सिँचाइ, रोजगार लगायतका क्षेत्रमा ऐतिहासिक काम भएको जानकारी दिए ।

उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको पार्टी, देश बनाउने संकल्प बोकेको पार्टी भएको हुनाले यो पार्टी नै मुल पार्टी भन्दै आजैबाट मुल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुंगिएको बताए ।

यो पनि पढ्नुहोस्

अब तेस्रो जनआन्दोलन शुरु भयो : गृहमन्त्री थापा

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जू’ मा बन्द गरिनेछ : गृहमन्त्री थापा

ओली समूहद्वारा नारायणहिटी सडकमा हुने बृहत जनसभाको तयारी (फोटो फिचर)

ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !