७ बैशाख २०८१, शुक्रबार

ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै


ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ । ओली समूहको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आज मध्याह्न १२ बजे काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभाको आयोजना गर्दै शक्ति प्रदर्शन गर्दैछ । आजको जनसभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी सो समूहका नेताले गरेका छन् ।

काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्द प्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

आज माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघर लगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुनेछ । साथै सो समूहले माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको र्याली गरिसकेको छ ।

जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

यसरी नेकपाका दुईसमूहवीच होडवाजी चलेको छ । हिजो एकातिर प्रचण्ड-नेपाल समूहले देशभर आमहड्ताल गरेको थियो भने अर्कोतिर ओली समूहले राजधानी काठमाडौँमा मार्चपास गरेको थियो ।

नेकपाको प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै हिजो बिहीबार एकदिन देशव्यापी आमहड्तालमा उत्रिएको थियो भने ओली समूहले राजधानीमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको थियो ।

राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमं सेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको थियो । ‘नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको थियो ।

नेकपाको ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भ्रमपूर्ण समाचारको भ्रममा नपर्न अनुरोध गरेका छन् । हिजो राती सामाजिक संजाल फेसवुकमा एउटा स्टाटस् लेख्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

आज २०७७ माघ २३ गते काठमाण्डौं नारायणहिटी अगाडि गरिने नेपाल कम्युनिष्ट पार्टीको वृहद जनसभाको कार्यक्रमलाई लिएर अत्यन्त भ्रमपूर्ण समाचारहरू सामाजिक संजालहरूमा आएकोमा उनले आपत्ति समेत जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे घिनलाग्दाे अपराध कर्मकाे निन्दा गरेका छन् । हिजो राती सामाजिक संजाल फेसवुकमा एउटा स्टाटस् लेख्दै उनले यस्तो निन्दा गरेका थिए ।

उनका अनुसार माझण्ड (माधव-झलनाथ-प्रचण्ड) गुटका अपराधिक मानसिकता राख्ने व्यक्तिहरूकाे साइबर अपराधमा संलग्नतामा माघ २३ गतेकाे हाम्राे पार्टीकाे बहुचर्चित जनप्रदर्शनबारे भ्रम फिजाउन सक्रिय रहेकाे देखिएकाे बताएका थिए ।

यो पनि पढ्नुहोस्

भ्रमित समाचारको पछि नलाग्न ईश्वर पोखरेलको अनुरोध

माधव नेपालका कान्छा भाइ सराेजकाे घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु – सूर्य थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !