२० बैशाख २०८१, बिहिबार

संवैधानिक इजलासमा विडारीको प्रश्न : प्रधानमन्त्रीलाई ताजा जनादेश किन चाहियो ?


रामनारायण विडारी फाइल फोटो

काठमाडौँ । वरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसअघि नै ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् । प्रतिनिसभा विघटनमा परेको रिट उपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा आज शुक्रबार बहस गर्दै बिडारीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई ‘संसद फोबिया’ भएको पनि बताएका छन् । उनले संसदबाट भाग्ने प्रधानमन्त्री ओलीलाई हुतिहारा प्रधानमन्त्रीका संज्ञा दिए ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राज्यविरूद्धको अपराध गरेको भन्दै प्रधानमन्त्रीलाई अहिले कारबाही नगरे अरु प्रधानमन्त्रीले पनि त्यसै गर्ने तर्क उनले गरे । उनले संसदलाई आए आँप गए झटारो बनाउन खोजेको पनि बताएका छन् ।

उनले संविधानमा लेखेको कुरा नमान्नेले अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्न नमिल्ने पनि बताएका छन् । संविधान अनुसार प्रधानमन्त्री दिन नसक्ने प्रतिनिधिसभा मात्र विघटन हुने उनले दावी गरे । केपी ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने उनको तर्क थियो ।

विडारीले संविधानको मस्यौदा देखि निर्माणको सबै प्रक्रियामा आफूले भाग लिएको बताउँदै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिने गरी कहीँ कतै छलफल समेत नभएको बताएका छन् । उनले संविधानको मस्यौदाको क्रममा ८९ (१) मा भएको व्यवस्था अहिले धारा ७६ (७) मा रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !