१५ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती थप्यो : अध्यक्ष नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटनबाट नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताएका छन् ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षा गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध लड्ने आँट, साहस र हिम्मत अगाडि बढाउनुपर्ने बताए ।

“अहिले अग्निपरीक्षा शुरु भएको छ, जो सङ्कटका बेला खुट्टा कमाउँछ, त्यसले मुलुक र जनताको हित गर्न सक्दैन”, उनले भने, “चुनौती सामान गर्न उच्च मनोबल र दृढ आत्मविश्वास हुनुपर्छ ।”

नेपालमा कम्युनिष्ट आन्दोलन जन्माउने, हुर्काउने र अगाडि बढाउनेमा महिलाको सशक्त भूमिका रहेको स्मरण गर्दै उनले जनताले प्राप्त गरेको अधिकार कुण्ठित हुँदा चुप लागेर बस्न नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान र पद्धति उल्लङ्घन गर्दा पार्टीभित्र समस्या देखिएको उनको भनाइ थियो ।

“प्रधानमन्त्रीले पार्टी विधान उल्लङ्घन गर्नुभयो, पार्टीले उहाँलाई अध्यक्षबाट हटाएको छ, पटकपटक पार्टी अनुशासन उल्लङ्घन गरेकाले उहाँ (ओली) लाई अन्तिम स्पष्टीकरणको पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो ।

‘बहुमतको निर्णय नमान्दा यो अवस्था’

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने बताए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन आन्दोलनमा उत्रनाको विकल्प नभएको स्पष्ट गरे ।

अध्यक्ष दाहालले भने, “जनताले ७० वर्ष लडेर ल्याएको उपलब्धि रक्षाका लागि सङ्घर्षमा होमिनुको अहिलेको आवश्यकता हो ।” उनले प्रधानमन्त्री ओलीका कारण अहिलेसम्म प्राप्त उपलब्धि खतरामा परेको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद लिएर पदसँग जोडेर हेर्ने गरिएकामा आपत्ति जनाउँदै पार्टीभित्र विधि र विधानको मात्र विवाद भएको बताए । “प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेर सङ्कटको अवस्था आएको हो”, उनले भने ।

उनले पार्टीभित्रको समस्याको विषयमा छलफल नै नगर्ने र बहुमतको निर्णय पनि नमानेको कारण अहिलेको स्थिति आएको बताए । पार्टी एकता हुँदा जारी राजनीतिक प्रतिवेदन नै एकताको आधार भएको उल्लेख गर्दै उनले भने, “नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।”

अनेमसङ्घका सहइञ्चार्ज कमला रोकाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत उपलब्धि ल्याउन महिलाको भूमिका उल्लेख्य रहेको बताउँदै सरकारको कदमविरुद्ध लड्न फेरि पनि महिला तयार हुनुपर्नेमा जोड दिए ।

भेलाले अनेमसङ्घका संयोजकमा अमृता थापा र सहसंयोजकमा जयन्ती राईलाई चयन गरेको छ । अनेमङ्घले प्रतिनिधिसभा विघटनविरुद्ध मङ्गलबार राजधानीमा र्याली निकाल्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !