१५ बैशाख २०८१, शनिबार

ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी


ओली-प्रचण्ड फाइल फोटो

काठमाडौँ, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ । आज शुक्रबार बिहान करीव ९:३० बजेदेखि अध्यक्षद्वयबीच भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टी निर्णय तथा सहमति विपरित प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेता असन्तुष्ट भएका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिमा एकलौटी गरेकोमा प्रचण्ड असन्तुष्ट भएकाले २ दिनसम्म भेटवार्ता हुन सकेको थिएन । मन्त्रिपरिषद् पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन ।

लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैँ समय-समयमा निरन्तर ओली-प्रचण्डवीच हुने विवाद पनि यस्तै भएको छ । उही पार्टीका अध्यक्षहरु नमिली पनि भएन । २ दिनको मौनता तोड्दै शुक्रबार अध्यक्षद्वयले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् ।

नेपाल सरकारले अमेरिकाको लागि राजदूतमा नियुक्त गरेको छ । हिजो बिहिवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । त्यस्तै मन्त्रिपरिषदले हिजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको थियो भने मुख्यसचिवमा भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपामा फेरि किचलो : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै दाहाल र नेपाल असन्तुष्ट

प्रधानमन्त्री ओलीको ‘युवराज मोह’ : खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

प्रधानमन्त्री ओलीले लोकदर्शनलाई दिए उपहार : रेग्मी भए बेलायतको लागि राजदूत

शंकरदास वैरागीले बाजी मारे मुख्य सचिवको उच्च पद


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !