२१ बैशाख २०८१, शुक्रबार

एमालेमा नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्दै


माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ ।

अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि नेपाल पक्षले पार्टी एकताको आधार समाप्त भएकोसमेत जनाएको छ ।

सोमबारको स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको ओली पक्ष २७ र २८ भदौमा विधान महाधिवेशन गर्दै छ । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओली पक्षको गतिविधिले एकता सम्भावना नरहेको औंल्याए । ओली पक्षको एकपक्षीय विधान संशोधन र विधान महाधिवेशनलगायत क्रियाकलापले एकता जोगाउनभन्दा विभाजनउन्मुख रहेको खतिवडाले बताए ।

स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूपक्षीय नेतालाई देशभर पार्टीका साथै जनवर्गीय संगठनको समानान्तर कमिटी गठनसहित संगठन विस्तार गर्न आन्तरिक निर्देशन दिइसकेका छन् । ओली पक्षका नेता प्रदिप ज्ञवालीले एकताका नाममा पार्टी गतिविधि ‘अब रोक्न नसकिने’ प्रस्ट पारे ।

एकताबद्ध बनाउने नाममा पार्टी गतिविधि रोकेर कुर्नसक्ने सम्भावना नरहेको बताउँदै उनले विधान महाधिवेशन तोकिएकै समय हुने दाबी गरे । नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य १० बुँदे प्रस्तावमा आवश्यकताअनुसार परिमार्जन गर्दै ओली र नेपाल दुबैको संयुक्त हस्ताक्षर हुनेगरी एकता हुनुपर्नेमा जोड दिन्छिन् ।

आफूहरूको पहिलो प्राथमिकता एकता नै रहेको बताउँदै उनले ओली पक्षबाटै विभाजन शुभारम्भ भएको आरोप पनि लगाइन् । ओली पक्षका नेता शेरबहादुर तामाङले एकताका लागि नेपाल पक्षलाई नपर्खिने बताए । एकताको नाममा पार्टी गतिविधि रोक्न नसक्ने बताउँदै उनले विधान महाधिवेशन सकेर नेतृत्व चयनका लागि १०औं महाधिवेशन मिति तोकेर अघि बढ्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !