२० बैशाख २०८१, बिहिबार

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ट्राफिक जाम जस्तै


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण दर्जनौं मुद्दा जाममा परेका छन् ।

शर्माविरुद्धको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेर पनि सर्वोच्चमा सुनुवाइ रोकिएको छ । शर्माले आफ्नो कृषिलगायत आय गणना नगरी सर्वोच्चले आफूलाई दोषी ठहर गरेको भन्दै उनले पुनरावलोकन गरेका थिए ।

२८ पटक पेसी तोकिएको मुद्दा अन्तिम सुनुवाइका लागि १२ चैतका लागि पेसी तोकिएको छ । शर्माले लिएको आय गणना विषयमा सर्वोच्चले फैसला गर्दै व्याख्या गरेसँगै भ्रष्टाचार मुद्दा सुनुवाइ ‘कसरी अगाडि बढ्छ ?’ भन्ने अर्थ राख्नेछ ।

यसअघिका भ्रष्टाचार मुद्दामा दोषी भएका व्यक्तिलाई छाडेर शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्चले गर्ने फैसला अन्य व्यक्तिका लागि नजिर बन्न सक्नेछ ।

अन्तिम सुनुवाइ भइसकेको मुद्दा फैसला ढिलाइ हुँदा अन्य ‘हाई प्रोफाइल’ भ्रष्टाचार मुद्दा प्रभावित बनेको छ । शर्माविरुद्धको मुद्दा पछिल्लो समय गत २९ माघमा न्यायाधीशहरू पुरुषोतम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासमा ‘हेर्दा हेर्दै’मा राखिएको छ ।

यसअघि उनको मुद्दामा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले ३० वैशाख २०५५ देखि २८ वैशाख २०५७ सम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका बखत भ्रष्टाचार गरेकाले ५३ लाख ९९ हजार ७ सय ८० बिगो असुल हुनुपर्ने ठहर गरेको थियो ।

सर्वोच्चले बिगोबराबरको जरिमानाका साथै नौ महिना कैद र महाप्रबन्धकजस्तो सार्वजनिक ओहोदामा रही भ्रष्टाचार गरेकाले थप तीन महिना कैद हुने फैसला सुनाएको थियो ।

२७ मंसिर २०६४ मा शर्माकै मुद्दामा तत्कालीन विशेष अदालतका न्यायधीश तथा अहिलेका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणासहित भूपध्वज अधिकारी र कोमलनाथ शर्माको संयुक्त इजलाशले सफाइ दिने फैसला गरेको थियो ।

सर्वोच्चले शर्माको भ्रष्टाचार मुद्दामा आय गणना विषयमा फैसला गरेमा भ्रष्टाचार अन्य मुद्दाका लागि नजिर बन्न सक्नेछ । शर्माको भ्रष्टाचार मुद्दा फैसलाको नजिरबाट सर्वोच्चमा रोकिएका अन्य ४ सयवटा भ्रष्टाचार मुद्दा सुनुवाइ सहज हुनेछ ।

शर्माको मुद्दाका कारण सर्वोच्चमा पूर्वभन्सार प्रमुख केशरजंग खड्का, सावित्री राजभण्डारी, बहालवाला सचिव श्रीराम पन्त, पूर्वआईजीपी प्रदीप शमशेर जबरा, रामप्रसाद अर्याल, तनुकलाल यादव र सुरेशकुमार रेग्मीका मुद्दा रोकिएका छन् ।

नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक शेरबहादुर थापा, सहसचिव मुरारीबहादुर कार्की र भन्सारका पूर्वसहसचिव जनार्दन शर्मा, पूर्वएसपी अरुणकुमार सिंह, भन्सारका कर्मचारी केशवराज गौतमविरुद्धको भ्रष्टाचार मुद्दा अड्किएको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !