२३ बैशाख २०८१, आइतबार

दक्षिण सिरियामा युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के


South Syria

२५ असार, बेरूत, लेवनान ।  सिरियाली सरकारको मुख्य सहयोगी रूस र दक्षिण सिरियामा सक्रिय विद्रोही समूहबीच युद्धविरामका लागि सहमति भएपछि दशौँ हजार नागरिक स्वदेश फर्किएका सिरियाली मानव अधिकारवादी संघसंस्थाले जनाएका छन् ।

सरकारी सेनाले रसियाको सहयोगमा गत दुई हप्तादेखि गरेको कारबाहीमा झण्डै ५०० जनाको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।

युद्धविराम सहमतिपछि विद्रोहीले दारा क्षेत्रबाट पछि हट्ने सहमति भएपनि उक्त क्षेत्रबाट पछि हट्ने समयलाई विलम्ब गर्दा दुई स्थानमा भएका हवाई आक्रमणमा चार सर्वसाधारणको मृत्यु भएको छ तर दक्षिण सिरियाका अन्य क्षेत्रमा अवस्था क्रमश सामान्य बन्न थालेको मानव अधिकारवादी समूहले जनाएको छ ।

सिरियामा सातवर्ष पहिले चलेको गृहयुद्धसँगै विद्रोहीको नियन्त्रणमा रहेको दारा प्रान्तको जोर्डनसँगको सीमाक्षेत्र र इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्सलाई सिरियाले पुनः फिर्ता गर्ने प्रतिवद्धतासहित अघि बढेपछि अन्तर्राष्ट्रिय समुदायको दवावमा युद्धविराम गरिएको हो ।

जुन १९ पछि सरकारी फौजद्वारा गरेको व्यापक रूपमा गोलाबारी गर्न थालेपछि करिब तीन लाख २० हजार नागरिक विस्थापित बनेका संयुक्त राष्ट्रसंघको ठहर छ ।

उक्त क्षेत्रमा जोर्डनले सिरियाली आप्रवासी शरणार्थीको भार धान्न नसक्ने भन्दै प्राय सबै नाकालाई बन्द गरिदिएको छ ।

विद्रोही र सरकारी फौजबीच गत शुक्रबार युद्धविरामको सहमति भएको थियो । सहमति अनुसार विद्रोहीले सरकारलाई ठूलाखाले हतियार बुझाउने र उक्त प्रदेशमा सरकारको उपस्थितिलाई स्वीकार गर्नुपर्ने बताइएको छ ।

प्राप्त सूचनाअनुसार शनिबार र आइतबार करिब ६० हजार सिरियाली नागरिक घर फर्केका छन् ।

युद्धविराम सहमति स्लामिक स्टेट (आइएस) जिहादी समूहका लागि भने लागू हुने छैन । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !