१५ बैशाख २०८१, शनिबार

एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र


कार्तिक १४, काठमाडौँ | प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ । बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुई सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो । उक्त मोटरसाइकल स्थानीय मोटरसाइकल मिस्त्री मेराजुल मियाँसँग रु ४० हजारमा एक महिनाअघि खरिद गरेको भन्दै भारत पूर्वी चम्पारण ढाका घर भएका महमद हसमुदिन अन्सारीका नामको सवारीधनी प्रमाणपत्र देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका चेतन यादवले प्रहरीसमक्ष बुझाएका छन् ।

अर्कातर्फ गुुजरा नगरपालिका हरिहरपुर टोलका रामचन्द्र साहले इञ्जिन नं र चेचीस नंका आधारमा उक्त मोटरसाइकल नेपाली नं ना ३८ प ५०८६ रहेको र यादवले भारतीय नं लेखेको भन्दै आफ्नो नाममा दर्ता रहेको नारायणी अञ्चल यातायात कार्यालय वीरगञ्जबाट प्राप्त सवारीधनी प्रमाणपत्र प्रहरीमा बुझाएर दाबी गरेका छन् । एक महिनाअघि दशैँताका हरिहरपुर बजारबाट उक्त मोटरसाइकल चोरी भएको भन्दै साहले यसअघि नै प्रहरीमा जाहेरी दिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र यादवले दुई वटै सवारीधनी प्रमाणपत्रको जाँच गराएपछि वास्तविकता आउने बताउनुुभयो । अर्का अभियुक्त मोटरसाइकल मिस्त्री मिया फरार रहेकाले उसको खोजी भइरहेको छ । मिस्त्री मिया यसअघि पनि दुई मोटरसाइकल विवादमा परिसकेको स्थानीय समाजसेवी तावारख मियाले जानकारी दिनुभयो ।

मिस्त्री मियासँगै जिल्लामा मोटरसाइकल चोरको एउटा गिरोह सक्रिय रहेको छ । गिरोहले जिल्लाका विभिन्न स्थानबाट पटक पटक मोटरसाइकल चोरिहेको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले उक्त घटनाबारे गम्भीरताका साथ अनुुसन्धान भइरहेको बताउनुुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !