२२ बैशाख २०८१, शनिबार

बन्दाबन्दीमा विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा


केरला, ५ वैशाख । अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उहाँले कठिन यात्रा गर्नु परेको थियो । उहाँले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गर्नुभएको बताइएको छ ।

यात्राका क्रममा झण्डै छ राज्य पार गर्नुभएकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

उहाँसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो ।

लामो यात्रा गर्नु भएकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभयो ।

आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उहाँले बताउनु भयो । छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उहाँको भनाइ छ ।
“भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौँ,” उहाँले भन्नुभयो ।

उहाँले आफुहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिनुभयो ।

उहाँहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुग्नु भएको हो । जोधपुरमा सिमा सुरक्षा बल (विएसएफ)मा जवानकोरूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आउनु भएको थियो । घरबाट फर्केपछि उहाँ विरामी पर्नु भएको हो । उहाँलाई शुरुमा पखाला लागेको बताइएको थियो ।

विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !