१५ बैशाख २०८१, शनिबार

ऋषि सुनक बेलायतको ५७औँ प्रधानमन्त्रीमा नियुक्त


ऋषि सुनक

काठमाडौं । हिन्दु धर्मावलम्बी भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सुनकले राजा चार्ल्सलाई आज मंगलबार बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि सुनक प्रधानमन्त्री बनेका हुन् । उनी बेलायतको पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री बनेका हुन् । दुई शताब्दीको अवधिमा ४२ वर्षीय सुनक बेलायतको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका हुन् ।

हिजो बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसंगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । सुनक गत सेप्टेम्बर महिनामा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित भएका थिए भने यसपटक प्रधानमन्त्री बनेका हुन् ।

यसअघि उनी बेलायतको पूर्व अर्थमन्त्री रहेका थिए । कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि र पूर्वप्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीको दौडबाट बाहिरिएपछि सुनक प्रधानमन्त्री बन्न सहज भएको थियो । मोर्डन्टले सुनकलाई समर्थन गरेकी थिइन् ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन् । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो । साथै उनको कार्यकालमा बेलाइतको मुद्रा अवमूल्यन भएको थियो ।

गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएएका थिए ।

नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !