१५ बैशाख २०८१, शनिबार

प्रदर्शनकारीद्वारा श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि कब्जा


श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय

काठमाडौँ । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा कब्जा गरेका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरेतापनि प्रदर्शन झन् चर्केको छ ।

आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बिबिसीले जनाएको छ ।

यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर माल्दिभ्स पुगेका छन् । राष्ट्रपति राजापाक्षे माल्दिभ्सका लागि आफ्नो श्रीमती र दुई सुरक्षा अधिकारीसहित देशबाट भागेर माल्दिभ्स पुगेको बताइएको छ ।

राजापक्षे भागेलगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् ।

सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने राजधानी कोलम्बोसहितको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।

दक्षिण एशियामा अवस्थित श्रीलङ्का अभूतपूर्व आर्थिक संकटमा फसेपछि चर्को आक्रोश उत्पन्न भएको छ । श्रीलंकामा महिनौँदेखि दैनिक विद्युत् कटौती हुने गरेको छ भने मानिसहरूले इन्धन, खानेकुरा तथा औषधिको अभाव भोग्नुपरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !