१४ बैशाख २०८१, शुक्रबार

तालिबानीले अर्काे प्रान्तीय राजधानी कब्जा गरेको दाबी


तालिबानी

काबुल । अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरुको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ ।

योसमेत गरी उनीहरुले अफगानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका छन् । तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच भीषण भिडन्त भने जारी नै रहेको छ ।

पछिल्लो तीन दिनमा तीन प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको लडाकूहरुले आइतबार दाबी गरेका छन् ।

लडाकूहरुले देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । सरकारी सुरक्षाकर्मीहरुसँगको लडाइँ अहिले पनि जारी रहेको पनि उनीहरुले बताएका छन् ।

उनीहरुले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् । तालिवान लडाकूहरुले यसअघि जारान्ज र शाबरगान प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिइएको दावी गरेका थिए ।

सुरुमा गत शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निम्रोेजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ ।

पश्चिमको हेरात, दक्षिणको कान्दाहार र लस्कर गाहसहितका प्रमुख सहर पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन् ।

अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।

यद्यपि अफगानिस्तानको रक्षामन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताउनुभएको छ । तालिबान समूहले प्रान्तीय सहरलाई आफ्नो नियन्त्रणमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्काका रुपमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !