२२ बैशाख २०८१, शनिबार

श्रीलङ्कामा भारी वर्षाको कारण १४ को मृत्यु, दुई लाख ४५ हजार प्रभावित


मौसम

कोलम्बो । श्रीलङ्काकामा भारी वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभाबित भएको अधिकारीहरूले बताएका छन् ।

मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा रहेको केगालेका रहेका छन् भने तीन रत्नपुरा जिल्लाका रहेका छन् । बर्षापछि आएको बाढीका कारण केही व्यक्ति हराइरहेका र केही घाइते भएका बताइउको छ ।

श्रीलङ्काको विपत् ब्यवस्थापन केन्द्रका अनुसार १५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने ८०० घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

श्रीलङ्काको मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनमा आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुने पूर्वानुमान गरिएको छ ।

यसैबीच श्रीलङ्काको नौसेनाले बर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ । कोपुम्बुको बाहिरी इलाकामा रहेको सपनी सापुगास्कान्डा तेल प्रशोधन केन्द्रमा जान हिँडेका इन्धन गाडीहरूलाई बाढीले बगाउनसक्ने भनी यस पहिले चिन्ता व्यक्त गरिएको भएपनि यो खतरा तत्काललाई टरेको छ ।

शनिबार भारी वर्षापछि तेल प्रशोधन केन्द्रमा राखिएको ट्याङ्कीलाई पानीले बगाउने र यसका कारण जलचरलाई खतरा बढेको बताइएको थियो ।

प्रतिकूल मौसमका कारण स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रम पनि अवरोध भएको जनाएको छ ।

स्वास्थ्य सेवाका उपमहानिर्देशक हेमन्था हेराथले स्थानीय सञ्चारमाध्यमलाई बाढी प्रभासवत जिल्लाहरुमा खोप कार्यक्रम स्थगित नभए पनि भारी वर्षाका कारण अधिकारीहरुले शत प्रतिशत काम गर्न नसकेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !