१४ बैशाख २०८१, शुक्रबार

भारतमा तीन महिनापछि सबैभन्दा थोरै कोरोना संक्रमित


भारतमा कोरोना भाइरस

नयाँदिल्ली, ११ कात्तिक । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल संक्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोना भाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् । त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा केही हप्ता अगाडिसम्म कोरोना भाइरसबाट संक्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ता अगाडिदेखि दैनिक रुपमा घट्दै गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !