१४ बैशाख २०८१, शुक्रबार

रूस बन्यो कोभिड-१९ खोपलाई स्वीकृति दिने पहिलो देश


भ्लादिमीर पूटिन

मस्को, २७ साउन । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भन्नुभयो ।

“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उहाँले थप्नुभयो । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिनुभएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उहाँले बताउनुभयो ।

यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन । आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गर्नुभयो ।

“मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”

जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड-१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ सङ्क्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !