१५ बैशाख २०८१, शनिबार

व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति बढी


मुद्दा

नेपालगञ्ज, २८ जेठ । नागरिक अधिकारका लागि अनिवार्य मानिएको व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति नेपालगञ्जमा अत्यन्त बढी देखिएको छ । जन्म, मृत्यु, बिहे, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता नागरिकले आफ्नो मातहतको नगरपालिका र गाउँपालिकाको वडा कार्यालयमा ३५ दिनभित्र गरी सक्नुपर्छ ।

नेपालगञ्जमा भने वार्षिक सरदर १६ प्रतिशतले मात्र तोकिएको समयमा घटना दर्ता गर्ने गरेका छन् । बाँकी ८४ प्रतिशतले आवश्यक परेको बेलामा मात्रै बढी जरिवाना तिरेर गराउने गरेका छन् ।

व्यक्तिको पहिचान प्रमाणित गर्नका लागि व्यक्तिगत घटना दर्ता अनिवार्य मानिन्छ । घटना दर्ता बेलैमा गराइएन भने राज्यले दिने सेवा सुविधा पाउन सकिँदैन । कतिपयले सचेतनाको अभावमा र कतिपयले जानीजानी पनि समयभित्र व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति देखिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का सचिव दीपकुमार मल्लको अनुभव छ ।

नयाँ व्यवस्थाअनुसार नेपालगञ्ज उपमहानगरपालिकाको वडा कार्यालयमा अनलाइन पद्धतिका माध्यमबाट पनि व्यक्तिगत घटना दर्ता हुने गरेको छ । इन्टरनेटको सुविधा पुगेका सबै वडा कार्यालयमा अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ता भइरहेको पञ्जीकरण शाखाका कर्मचारी गुरुङले बताउनुभयो ।

गाउँपालिकाको प्रशासनिक केन्द्र भवन निर्माण हुने

बाँकेको खजुरा गाउँपालिकामा पालिकाको केन्द्र तोकेको बी गाउँमा अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । सिंहदरबारको झझल्को दिने गरी बनाइने उक्त प्रशासनिक भवनको डिपिआर तयार भइसकेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

यसअघि खजुरा गाउँपालिकाको चौथो गाउँसभाले केन्द्र रहने स्थानको टुङ्गो लगाएको थियो । प्रशासनिक केन्द्र नयाँ ठाउँमा सार्ने निर्णयसँगै प्रारम्भिक काम शुरु भएको बताइएको छ । करीब ६ बिगाहा क्षेत्रफलमा झण्डै रु दुई करोडको लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने इञ्जिनीयर विवेक लामिछानेले बताउनुभयो ।

वैकल्पिक शिक्षाको थलो ‘खेल्दै सिक्ने केन्द्र’

वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई थप प्रभावकारी बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई थप प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना निर्माण कार्यक्रम अघि बढाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ बाँके, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजनाअनुसार यो आर्थिक वर्षका लागि थप रु एक लाख ९० हजार विनियोजन गरिएको छ । “करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरु विद्यालयबाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गरिएको हो”, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगन्ज उपमहानगरपालिकाको टोलअन्तर्गतको वडा कार्यालयले पनि अपनत्व ग्रहण गरेको छ । “खेल्दै सिक्ने केन्द्र आप्mनो वडामा रहेकाले जिम्मेवारी बोध गरी यसका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था वडा कार्यालयले मिलाएको छ”, नेपालगञ्ज–४ का अध्यक्ष सफिक बेहनाले भन्नुभयो । अहिले नेपालगञ्ज–४ र ८ मा दुई वटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेको छ । आगामी आर्थिक वर्षको साउनदेखि वडा नं १४, १५ र १९ मा तीन केन्द्र थप गरी पाँच वटा केन्द्र सञ्चालन गरिने शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले ती केन्द्रमा बिहान १० देखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्रमा लगानी गर्दै आएको युनिसेफका रामप्रसाद गौतमले बताउनुभयो ।

केन्द्रमा १० देखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरीले विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आयआर्जनलगायतका विषयमा ज्ञान हासिल गर्ने बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !