२३ बैशाख २०८१, आइतबार

आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा


अमेरिकी

५ मङ्सिर, वासिङटन डिसी, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।

यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए । मुसलमानहरुका धर्मगुरु मोहमदको जन्मदिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो ।

अमेरिकाले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ । विस्फोट गराइएको समयमा सो स्थानमा करिब एक हजार मानिसहरू भेला भएका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स लडाकू समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन् । यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो ।

अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतङ्ककारी आक्रमणमा कुनै कमी आएको छैन ।

केही दिन अगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको थियो ।

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको पत्रकारसँग भन्नु भएको थियो । अहिले मेलमिलाप र शान्तिको अवसर आएको पनि उहाँले प्रष्ट पार्नु भएको थियो ।

अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ ।(रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !