२४ बैशाख २०८१, सोमबार

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


उदयपुरमा जीप दुर्घटना

टक्सार, भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !