२० बैशाख २०८१, बिहिबार

काठमाडौँ प्रशासनले भन्यो– दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको स्पष्ट पारेका हुन् ।

जिल्ला प्रशासनले गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख हो । नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो । शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ ।

हिजो बिहीबार राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुने र महाअभियान, नेपाललाई बल्खुमा कार्यक्रम गर्न दिएपनि आज कसैलाई पनि कार्यक्रमको अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्ट पारेको हो । महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको कार्यालयले जनाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले आजदेखि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्ने लगायतका माग गर्दै उक्त अभियानले हिजो काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको थियो ।

पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजदेखि तीनकुने केन्द्रित हुने भएका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !