२५ बैशाख २०८१, मंगलबार

कोसी ब्यारेजका सबै ढोका नखोल्दा सप्तकोसीको बाँध फुटेर उदयपुरको बस्तीमा पस्यो


सप्तकोशी कटान तस्वीर सौजन्य : भरत घिमिरे

धरान । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ । भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा सप्तकोसीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको हो ।

सप्तकोसी नदीमा पानीको बहाव तीब्र हुँदा पनि भारतले ब्यारेजका सबै ढोका नखोलेपछि नदीमा आएको बाढीले कटान गरेर बाँध फुटेको हो । सप्तकोसीको बाँध फुटपछि हजारौं घर परिवार उच्च जोखिममा रहेका छन् ।

सुनसरी र उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ कटान गर्न थालेको हो । आज बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो ।

योसँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेका छन् । कोसी पश्चिम तटबन्दतर्फ फर्किएपछि सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आतंकित भएका छन् ।

अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेका छन् ।

बाँध फुटेर पुरानै धारतिर कोशी बगिरहेकोले बस्ती सार्ने काम भइरहेको छ । यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिएको छ । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको छ । लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !