मिथिलाञ्चलमा गाउँगाउँमा झिझिया नृत्यको रौनक Nepalpatra मिथिलाञ्चलमा गाउँगाउँमा झिझिया नृत्यको रौनक
४ कार्तिक २०७८, बिहिबार

मिथिलाञ्चलमा गाउँगाउँमा झिझिया नृत्यको रौनक


मिथिलाञ्चल

जलेश्वर । मिथिलाञ्चलका गाउँगाउँमा अहिले झिझिया नृत्यको रौनक छाएको छ । दसैँ सुरु हुनुलगत्तै मिथिलाञ्चलका गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ ।

दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ । दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ ।

यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई सङ्केत गर्दछ ।

महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास छ । त्यसकारण सो घैँटो टाउकामा राखी जादु, टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ ।

झिझिया नृत्यको अर्को उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु पनि रहेको जलेश्वर नगरपालिका– ८ की ६० वर्र्षीया राजवती देवीले बताउनुभयो । विशेष सुरताल र झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत वातावरणको निर्माण हुन्छ । नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनाका साथै धम्कीसमेत दिइन्छ ।

बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिहरूको सुरक्षा हुने जनविश्वास रहेको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्यहरू गायब हुन थालेका छन् ।

झिझिया लोकनृत्य महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ । त्यस्तै, भारतीय मिथिला क्षेत्रमा पनि यो नृत्य प्रस्तुत गरिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य पनि हो ।

दसैं सुरु भएसँगै साँझ पर्नासाथ युवती तथा महिलाको टोली जम्मा भएर झिझियाको तयारी गर्ने गर्दछन् भने राति अबेरसम्म दुर्गा प्रतिमा अगाडि र विभिन्न चोकचोकमा झिझिया नृत्य गर्ने गरेको देख्दा जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन् ।

झिझियाको सुरुआत

घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्यहरू गायब हुन थालेका छन् । तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवित राख्न भए पनि बर्सेनि झिझिया नृत्य आयोजना गरिन्छ ।

सातौँ वा आठौँ शताब्दीतिर बोक्सीविरुद्ध प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको सुरुवात गरिएको इतिहासकारहरू बताउँछन् । गाउँघरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहँदा सहर बजारसमेत झिझिया नृत्यबाट अछूतो रहेन । महोत्तरीमा अहिले हरेक रात समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको सहजै देख्न सकिन्छ ।

यसको एउटा उद्देश्य दसैँको समयमा देवी दुर्गालाई रिझाउनु रहेको छ । झिझिया नृत्य गर्दै गाइने गीतहरूमा भगवती दुर्गाको स्तुति गरिएका अत्यन्त मोहक गीतहरू पनि गाइन्छन् । त्यसमा प्रत्येक दसैँमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरू गाइन्छ ।

नृत्यपूर्वको तयारी

झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुइटा स्वच्छ घैंटो किनेर त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।

आफ्ना सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ । यसरी मन्त्रबाट सिद्ध भएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् ।

ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न÷रुपैयाँ चन्दा माग्ने चलन छ । त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजा पाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।

समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट्याउँछ । यद्यपि, गाउँघरका महिलाले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै दसैँताका झिझिया नाच नाच्ने परम्परा छ । परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीतहरू लोपोन्मुख अवस्थामा छन् । यसकारण, सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । यसरी ढकनामा सल्काइएको आगो टाउका लिएर नृत्य गर्नु आफैँमा साहास र कलाको अलौकिक प्रदर्शन हो ।

बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरू केही मान्न नसकिने भन्नेहरु पनि कमी छैन । तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने कुरा संस्कृतिविद् ध्रुव रायले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !