१५ बैशाख २०८१, शनिबार

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना : ८ जनाको मृत्यु


दुर्घटना

पोखरा । पोखराबाट कास्की जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र गम्भिर अवस्था भएका ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयवासीका अनुसार १ जना सामान्य घाइतेको उद्धार गरिएको र अधिकाँशको मृत्यु भएको हो । अर्को १ जनाको उद्धार जारी रहेको बताइन्छ ।

मृतकको शव पोखरा ल्याइँदैछ । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए ।

उनले भने, “दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिए । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।

घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ । यद्यपि दशैंको छुट्टिमा पदयात्रामा हिँडेकाहरु दुर्घटनामा परेको हुन् । उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए ।

घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी गरेको छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !