१५ बैशाख २०८१, शनिबार

स्वर्गाश्रममा आश्रयस्थल निर्माण


खोपारा लेक

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रममा तीर्थयात्री र पर्यटकलाई लक्षित गरी आश्रयस्थल भवन निर्माण भएको छ । स्वर्गाश्रममा आउने तीर्थयात्रीको सुबिधाका लागि रु २१ लाखभन्दा बढी खर्चेर तीन वटा भवन निर्माण भएको हो । स्वर्गाश्रम बेलढुङ्गा विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बेनी नगरपालिकाको सहयोगमा भवन निर्माण भएको जानकारी दिनुभयो ।

“आव २०७६/७७ मा विनियोजन भएको रु २० लाख बजेटबाट स्वर्गाश्रममा तीर्थयात्री निवास बनाएका थियौँ”, वडा सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो, “चालू आवमा रु छ लाखले तीर्थयात्रीलाई भान्छाघर र रु तीन लाखबाट बाघखोरमा पर्यटक आश्रयस्थल निर्माण भएको छ ।”

उपभोक्ता समितिका अध्यक्ष खिमकुमारी खत्रीले भान्छाघर बनाउन रु दुई लाख ५५ हजार र पर्यटक आश्रयस्थल भवन बनाउन रु ५५ हजार बराबरको श्रमदान गरेको बताउनुभयो । आश्रयस्थलमा एक सय जनाभन्दा बढी बस्न सक्छन् । बस्तीदेखि टाढा जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा खान र बस्नको समस्या थियो ।

समुन्द्री सतहदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको स्वर्गाश्रममा म्याग्दी र बागलुङबाट मानिस दृष्यावलोकन, भ्रमण र दर्शनका लागि पुग्न थालेपछि चहलपहल बढेको छ । प्राचीनकालदेखि नै ऋषि महर्षि र विद्वान् विदूषीको तपस्थली रहँदै आएको स्वर्गाश्रमबाट कालीगण्डकी, महारानी थान, जगन्नाथधाम, गलेश्वर धाम, मुक्तिनाथ, रिखार क्षेत्र र पौलस्त्य क्षेत्रको दर्शन गर्न सकिन्छ ।

प्राकृतिकरुपमा अत्यन्त रमणीय, आध्यात्मिक आस्थाको केन्द्र, पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमबाट सातवटा तीर्थस्थलको दर्शन गर्न पाउनु अद्वितीय विशेषता भएको वडाध्यक्ष पदम पुनले बताउनुभयो । यहाँ तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा जानुभएको बताइएको छ । हाल यस क्षेत्रको प्रचारप्रसारका लागि समितिले तपस्वीनी ईश्वरानन्द सरस्वतीलाई पनि यही बोलाएको छ । अहिले तपस्वीनी सरस्वती घना जङ्गलको बीचमा रहेको स्वर्गाश्रममा एक्लै तप र ध्यान गरेर बसिरहनुभएको छ ।

तपस्वीनी सरस्वतीका अनुसार पनि एकै ठाउँबाट सातवटा तीर्थस्थल दर्शन गर्न सकिने नेपालको एकमात्र ठाउँ स्वर्गाश्रम नै हो । स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनी बजारसँगै कालीगण्डकी, महारानी थान, उत्तरतर्फ गलेश्वरधाम, जगन्नाथधाम, मुक्ति क्षेत्रलगायतका तीर्थस्थलको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !