१४ बैशाख २०८१, शुक्रबार

सही सूचना प्रवाहका लागि राससको भूमिका अझै बढेको छ : उपराष्ट्रपति पुन


नन्दकिशोर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनतामा सही सूचना प्रवाहका लागि राष्ट्रिय समाचार समिति (रासस)को दायित्व र भूमिका अझै बढेको बताएका छन् ।

आफ्नो गौरवमय ६२औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति पुनले एक शुभकामना सन्देश दिंदै उनले राससले आफ्नो सेवाहरू समयसापेक्ष परिमार्जन र विविधिकरण गर्दै विश्वसनीयतालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले सन्देशमा अगाडि भनेका छन्, “राससलाई अझ सशक्त, प्रभावकारी र सुदृढ बनाउन नेपाल सरकारको सहयोग अझै बढ्ने विश्वास लिएको छु ।” आजको युग सूचना र प्रविधिको हो भन्दै उपराष्ट्रपति पुनले सन्देशमा भनेका छन्, “सूचनाको शक्ति अरूसँग तुलना हुन सक्दैन । जहाँका जनता सही सूचनाबाट सुसूचित हुन्छन्, त्यहाँका जनता शक्तिशाली हुन्छन्, सुशासन हुन्छ र लोकतन्त्र बलियो हुन्छ ।”

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाज र राष्ट्रको मुलभूत आधार हो भन्दै उपराष्ट्रपतिले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित रहेको तथ्य स्मरण गराएका छन् । उपराष्ट्रपतिले संविधानमा उल्लेखित देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियतालगायतका विषयमा सञ्चार जगत्को भूमिका र पत्रकार आफैँले बनाएको आचारसंहितालाई पूर्णरूपमा ध्यान दिँदै पत्रकारिता क्षेत्रले सही सूचना प्रवाह गर्नुपर्दछ भनेका छन् ।

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, “संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतको अधिकार प्रयोग गर्दै भ्रष्टाचार न्यूनीकरण, विकृति, विभेदको अन्त्य तथा जनताको अधिकार, समानता, स्वतन्त्रताका लागि राज्यलाई निरन्तर खबरदारी गरेर सञ्चार क्षेत्रले विवेकले भरिएको प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्दछ । साथै संविधानको कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दिगो विकास, आर्थिक समृद्धि, सामाजिक सद्भाव र बलियो राष्ट्रिय एकताका लागि सञ्चार क्षेत्र जिम्मेवार भूमिकामा हुनुपर्दछ ।”

नेपाली पत्रकारिताको उन्नयन तथा सत्य, तथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र औपचारिक सूचना शीघ्र प्रवाह गरेर जनतालाई सुसूचित गर्नेमा राज्यको स्वामित्वमा रहेको राससको विशिष्ट भूमिका रहेको उपराष्ट्रपतिको भनाइ छ ।

उपराष्ट्रपति पुनले सन्देशमा अगाडि भनेका छन्, “आज देशैभरका सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गर्ने महत्वपूर्ण समाचार सामग्री राससबाट उत्पादित छन् । यो राससले कमाएको विश्वसनीयताले हो ।” उहाँले मातृ तथा अन्य भाषामा पनि समाचार सामग्री उत्पादन गर्न आग्रह गर्नुभएको छ । नेपाल बुहभाषिक मुलुक भएको र दर्जनौँ भाषाका सञ्चारमाध्यम सञ्चालनमा रहेको तथ्य पेस गर्दै उपराष्ट्रपति पुनले भन्नुभएको छ, “मातृ तथा अन्य भाषामा पनि समाचार सामग्री उत्पादन होओस्, जसबाट मातृ तथा अन्य भाषाको पत्रकारितालाई सहज होओस् र हाम्रो भाषाको संरक्षणमा पनि योगदान पुगोस् ।”

उपराष्ट्रपतिले जनआन्दोलनमार्फत सार्वभौम नेपालीले निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण दिन प्रजातन्त्र दिवस–२०७९ को समेत सबैमा शुभकामना दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !