२६ बैशाख २०८१, बुधबार

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु


कृष्ण गिरी

जनकपुर, साउन २८ । जनकपुर नगरपालिकाका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालक समेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा हिजो मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको हो । २० दिनदेखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो ।

उनका छोरा डा. सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए । जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छोराहरु चिकित्सक छन् । बुवा बिरामी भएपछि जेठो छोरा डा. सन्तोष ब्रुनाइबाट आएका थिए भने कान्छा छोरा डा. कुन्दन गिरी अष्टेलियामा छन् ।

उनको परिवारजनले कोरोना संक्रमणवाट मृत्यु भएको पुष्टि गरेपनि अस्पतालले यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्म पुष्टि गरेको छैन । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !