१५ बैशाख २०८१, शनिबार

धौलागिरी अस्पतालमा कोभिड–१९ प्रयोगशाला


पिसिआर परीक्षण

बलेवा । धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं कुनुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । मेसिन अहिले परीक्षणमा रहेको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलले भन्नुभयो, “सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।”

मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताउनुभयो । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् ।

मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो ।

तीन वडामा दश दिन बन्दाबन्दी

विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।

मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागु हुनेगरी बन्दाबन्दी घोषणा गरेको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नं. १२ अमलाचौर र वडा नं. १३ पैञ्युपाटामा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिनुभयो । समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ । बन्दाबन्दीको समयमा सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !