२५ बैशाख २०८१, मंगलबार

फाइजर कोरोना खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको कम्पनीद्वारा दाबी


फाइजर कोरोना खोप

एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण निर्मूल पार्न विकसित भई रहेका खोपहरुको प्रभावकारी दावी गर्ने होड एकपछि अर्कोले बढ्दै गएको छ । यसैक्रममा औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

द न्यूयोर्क टाइम्सले बताए अनुसार यस कम्पनीले हिजो बुधबार कोरोना विरूद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताएको हो । खोपको अन्तिम परीक्षणको प्रारम्भिक नतिजाहरूले कुनै गम्भीर असर नभएको पनि कम्पनीले दाबी गरेको छ ।

नतिजाहरूका अनुसार यो खोपले कोरोना भाइरसबाट हल्का र गम्भीर असर परेकाहरूलाई जोगाउने कम्पनीको भनाइ छ । साथै वृद्धहरूमा भने यो खोप ९४ प्रतिशत मात्रै प्रभावकारी छ । फाइजरका अनुसार यसले खोप उपलब्ध गराउन अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) सँग केही दिनमै आकस्मिक अनुमति माग्नेछ ।

यदि एफडिएले दुई डोजको खोप बनाउन अनुमति दिए यो वर्ष अन्त्यसम्म ५ करोड डोज उपलब्ध गराउने कम्पनीले बताएको छ । अर्को वर्षसम्म भने एक अर्ब तीस करोड डोज उपलब्ध हुनेछ ।

यसअघि प्रारम्भिक अनुसन्धानमा जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले आफ्नो खोप ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो । पछि सोमबार अर्को औषधि निर्माता अमेरिकी कम्पनी मोडेर्नाले प्रारम्भिक अनुसन्धान अनुसार आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको थियो ।

फाइजर र बायोएनटेकले ४४ हजार जनामाथि परीक्षण गरेकोमा आधाले खोप लिएका थिए । त्यसपछि अनुसन्धानकर्ताहरूले दुवै समूहका कति जनामा कोरोना देखिन्छ भनी हेरेका थिए । कम्पनीका अनुसार कुल १७० जना संक्रमितमा ८ जना खोप लिएका व्यक्तिहरू थिए । त्यस्तै कुल संक्रमितमध्ये १० जनाको अवस्था गम्भीर थियो जसमध्ये एक जनाले खोप लिएका द न्यूयोर्क टाइम्सले लेखेको छ।

अमेरिकी संघीय स्वास्थ्य अधिकारीहरूका अनुसार खोपको पहिलो डोज सम्भवतः स्वास्थ्य अधिकारीहरूलाई नै दिइनेछ। त्यस्तै बढी जोखिममा रहेका वृद्धहरूलाई पनि दिइनेछ । फाइजर र बायोएनटेकको खोप प्रभावकारीताबारे धेरै अध्येताहरूले सकारात्मक र उत्साहजनक टिप्पणी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !